राप्तीमा पालिकास्तरीय बाल पोषण प्रतियोगिता सम्पन्न

मंगलबार, असार १६, २०८३

मसुरिया, १६ असार - दाङको राप्ती गाउँपालिकामा पालिकास्तरीय बाल पोषण प्रतियोगिता सम्पन्न भएको छ।

राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न प्रतियोगितामा दुई वर्ष उमेर समूहका बालबालिकाको पोषण अवस्था मूल्याङ्कन गरिएको थियो।

प्रतियोगितामा वडा नम्बर २ का रिदम कुमाल प्रथम, वडा नम्बर ५ की बिबिसा केसी द्वितीय र वडा नम्बर ३ की सायरा चौधरी तृतीय भएका छन्।उत्कृष्ट बालबालिकालाई क्रमशः तीन हजार पाँच सय, तीन हजार र दुई हजार पाँच सय रुपैयाँ नगद प्रदान गरी सम्मान गरिएको थियो।

प्रतियोगितामा स्वास्थ्य संस्थाबाट नियमित रूपमा तौल तथा उचाइ मापन गरिएको अवस्था, उमेरअनुसारको तौल, पूर्ण खोपको अवस्था, सरसफाइ तथा समग्र पोषण स्थितिलगायतका सूचकका आधारमा उत्कृष्ट बालबालिका छनोट गरिएको थियो।  

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले बालबालिकाको उचित पोषण र स्वास्थ्यमा परिवार तथा समुदाय दुवैको महत्वपूर्ण भूमिका रहने बताउँदै कुपोषण न्यूनीकरणका लागि सचेतना अभिवृद्धि आवश्यक रहेको बताउनुभयो। यस्ता कार्यक्रमले अभिभावकलाई बालबालिकाको पोषण अवस्थाप्रति थप जिम्मेवार बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले स्वस्थ नागरिक नै समृद्ध समाजको आधार भएको उल्लेख गर्दै बालबालिकाको स्वास्थ्य र पोषणमा गरिएको लगानीले भविष्यमा सकारात्मक प्रतिफल दिने बताउनुभयाे। उहाँले कुपोषण न्यूनीकरण र बाल स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिनुभयाे।

बालबालिकाको पोषण अवस्थाबारे अभिभावकलाई सचेत बनाउने, स्वस्थ र सक्षम बालबालिका निर्माणमा टेवा पुर्‍याउने तथा कुपोषणमुक्त समाज निर्माणमा सहयोग गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको  पाेषण फाेकल पर्सन धनबहादुर बुढा क्षेत्रीले जानकारी दिनुभयो।

प्रकाशित मिति: मंगलबार, असार १६, २०८३  २२:२१
प्रतिक्रिया दिनुहोस्
समाचार