सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
मसुरिया, २० असार - दाङको राप्ती गाउँपालिकामा स्वास्थ्यकर्मीहरूका लागि समुदायमा आधारित रोग निगरानी सम्बन्धी अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ।
राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाको कार्यालय मसुरियामा सम्पन्न कार्यक्रममा पालिकाभित्र रहेका सरकारी तथा निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पोषणराज शर्माले समुदायमा आधारित रोग निगरानीको अवधारणा, रोगको प्रारम्भिक पहिचान, सूचना संकलन, रिपोर्टिङ प्रणाली तथा महामारी व्यवस्थापनका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले समुदायस्तरमा रोगको प्रारम्भिक संकेत पहिचान गरी समयमै सूचना प्रवाह गर्न सके महामारी नियन्त्रण तथा जनस्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो।
स्वास्थ्य शाखा प्रमुख नारायण राउतले रोग निगरानी प्रणालीलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूको सक्रियता तथा सरकारी र निजी स्वास्थ्य संस्थाबीच समन्वय आवश्यक रहेको बताउनुभयो।
राप्ती आधारभूत अस्पताल कालापानीका मेडिकल सुपरिटेन्डेन्ट डा. सुशील केसीले समुदायमा आधारित निगरानी प्रणालीले स्वास्थ्य समस्याको समयमै पहिचान र व्यवस्थापनमा सहयोग पुग्ने धारणा राख्नुभयो।
त्यस्तै स्वास्थ्यकर्मी इश्वरी अधिकारीले सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरू नियमित रूपमा विभिन्न नीति तथा कार्यक्रमबारे अद्यावधिक हुने गरे पनि निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरू यस्ता जानकारीबाट वञ्चित हुने गरेको बताउनुभयो। उहाँले गाउँपालिकाले निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूलाई समेत कार्यक्रममा सहभागी गराएर समान रूपमा जानकारी दिने अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा रोग निगरानीका सूचक, सूचना व्यवस्थापन, महामारीको पूर्वतयारी तथा प्रतिकार्यका विषयमा छलफल समेत गरिएको थियो।