दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्तीमा किशोर–किशोरीका लागि एक महिने आत्मरक्षा तालिम सम्पन्न

आइतबार, असार २१, २०८३

भालुबाङ, २१ असार - दाङको राप्ती गाउँपालिकामा किशोर–किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी व्यावहारिक सीप प्रदान गर्दै आत्मविश्वासी, सक्षम र सुरक्षित नागरिकका रूपमा विकास गर्ने उद्देश्यले सञ्चालित एक महिने आत्मरक्षा तालिम आइतबार सम्पन्न भएको छ।

राप्ती गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त तालिम वडा नम्बर १ भालुबाङस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वडा नम्बर २ लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालय, वडा नम्बर ५ सिसहनियाँस्थित सर्वोदय माध्यमिक विद्यालय र वडा नम्बर ६ पत्थरगढवास्थित ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो।

तालिममा विभिन्न विद्यालयमा अध्ययनरत १ सय २० जना किशोर–किशोरीहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई आत्मरक्षाका आधारभूत तथा व्यवहारिक सीप, आत्मविश्वास अभिवृद्धि, अनुशासन, नेतृत्व विकास तथा व्यक्तिगत सुरक्षासम्बन्धी अभ्यास गराइएको थियो।

तालिमका प्रशिक्षकहरू यमलाल वाग्ले, विष्णा रेस्मी मगर,टिकाराम पुन मगर र जीवन घर्ती
रहनुभएको थियो।

तालिमको समापन कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आत्मरक्षा केवल शारीरिक सुरक्षा मात्र नभई आत्मविश्वास, साहस र सकारात्मक सोच विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले किशोर–किशोरीहरूलाई कुनै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गर्न सक्षम बनाउन यस्ता तालिम प्रभावकारी हुने उल्लेख गर्नुभयो।
“आजका किशोर–किशोरीहरू भोलिका जिम्मेवार नागरिक हुन्। उनीहरूलाई शिक्षासँगै जीवनोपयोगी सीप प्रदान गर्नु स्थानीय सरकारको दायित्व हो,” अध्यक्ष विष्टले भन्नुभयो, “आत्मरक्षा तालिमले विशेषगरी किशोरीहरूमा आत्मविश्वास बढाउनुका साथै आफ्नो सुरक्षा आफैं गर्न सक्ने क्षमता विकास गर्दछ। यसले समाजमा हुने विभिन्न प्रकारका हिंसा तथा दुर्व्यवहारविरुद्ध सचेत र सक्षम बन्न पनि सहयोग पुग्छ।”
उहाँले गाउँपालिकाले युवाहरू तथा किशोर–किशोरीहरूको क्षमता अभिवृद्धिका लागि खेलकुद, नेतृत्व विकास, सीपमूलक तथा सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सहभागीहरूले तालिमबाट आत्मविश्वास बढेको, जोखिमपूर्ण अवस्थामा आफूलाई सुरक्षित राख्ने सीप सिक्न पाएको तथा दैनिक जीवनमा उपयोगी ज्ञान हासिल भएको बताएका थिए। उनीहरूले यस्ता व्यावहारिक र जीवनोपयोगी तालिमहरू आगामी वर्षहरूमा पनि सञ्चालन गर्न गाउँपालिकासँग अनुरोध गरेका थिए।

राप्ती गाउँपालिकाले विद्यालयस्तरका किशोर–किशोरीहरूको सर्वाङ्गीण विकास, क्षमता अभिवृद्धि तथा सुरक्षित शैक्षिक वातावरण निर्माणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

प्रकाशित मिति: आइतबार, असार २१, २०८३  २१:३८
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी