फिफा विश्वकपमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

बुधबार, असार २४, २०८३

काठमाडौँ,२४ असार - फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज बिहान सम्पन्न अन्तिम १६ को खेलमा पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा पुगेको हो ।


निर्धारित ९० मिनेट र त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा पनि दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

पेनाल्टीमा स्विट्जरल्यान्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गर्दा कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरेका थिए ।


यो जितसँगै १३औँ पटक विश्वकप खेलिरहेको स्विट्जरल्यान्डले चौथोपटक क्वार्टरफाइनलको यात्रा तय गरेको हो । सन् १९५४ को विश्वकपमा क्वार्टरफाइनलमा पुगेको स्विट्जरल्यान्ड त्यसयता समूह चरण र अन्तिम १६ बाटै बाहिरिदै आएको थियो ।

अब स्विट्जरल्यान्डले सेमिफाइनल प्रवेशका लागि आइतबार साविक विजेता अर्जेन्टिनासँग खेल्नेछ ।

प्रकाशित मिति: बुधबार, असार २४, २०८३  ०६:११
प्रतिक्रिया दिनुहोस्