मेस्सीको अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास : ‘मैले अब दिनुपर्ने केही बाँकी छैन’

मंगलबार, भदौ १६, २०८३

काठमाडौं, १६ भदौ । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।

करिब दुई दशक लामो राष्ट्रिय टोलीको यात्रामा विश्वकपसहित महत्वपूर्ण उपाधि जिताएका ३९ वर्षीय मेस्सीले आफूले राष्ट्रिय टोलीका लागि दिनुपर्ने सबै कुरा दिइसकेको बताएका छन् । उनले हिजो सामाजिक सञ्जालमार्फत सन्न्यासको निर्णय सार्वजनिक गरेका हुन् ।

मेस्सीले आफ्नो निर्णय निकै पीडादायी भए पनि अब सन्न्यास लिने समय आएको बताएका छन् । अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैँ सक्दो प्रयास गरेको र देशलाई खुसी तथा गर्व गर्ने अवसर दिन मैदानमा आफ्नो सबै कुरा दिएको उनको भनाइ छ ।

सन् २००५ मा अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट डेब्यु गरेका मेस्सीले देशका लागि २०७ खेल खेल्दै १२५ गोल गरेका छन् । उनी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता तथा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी हुन् ।

मेस्सीको कप्तानीमा अर्जेन्टिनाले सन् २०२२ मा कतारमा भएको विश्वकपको उपाधि जितेको थियो । त्यसअघि सन् २०२१ र २०२४ कोपा अमेरिका उपाधिसमेत अर्जेन्टिनाले मेस्सीको नेतृत्वमा जितेको थियो ।

२०२६ को विश्वकपमा अर्जेन्टिना स्पेनसँग पराजित भएको थियो । त्यसपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको निर्णय सार्वजनिक गरेका हुन् ।

अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए पनि मेस्सीले क्लब फुटबललाई भने निरन्तरता दिनेछन् । उनी हाल अमेरिकाको मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका छन्।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  ०७:१४
प्रतिक्रिया दिनुहोस्
समाचार