दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

आज बागमती–गण्डकीमा भारी वर्षा, चितवनमा २४७ मिमि पानी; आज र भोलि पनि सतर्क रहन आग्रह

मंगलबार, असार ३०, २०८३

काठमाडौं, ३० असार - देशका अधिकांश क्षेत्रमा मनसुनी वर्षा जारी रहँदा बागमती र गण्डकी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति सुदूरपश्चिम प्रदेशबाहेक देशका अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको थियो भने बागमती र गण्डकीका केही स्थानमा ठूलो वर्षा मापन गरिएको छ।

महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा बागमती प्रदेशको चितवनमा २४७ मिलिमिटर मापन भएको छ। चितवनसँगै तनहुँ, नवलपरासी र कास्कीमा पनि उल्लेखनीय वर्षा भएको छ। हिजोदेखि निरन्तर पानी परिरहेकाले ती क्षेत्रमा जनजीवन प्रभावित हुने सम्भावना बढेको छ।

मौसमविद्का अनुसार आज र भोलि पनि देशका धेरैजसो स्थानमा मध्यमदेखि ठूलो वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा कोशी, बागमती र गण्डकीका तराई क्षेत्रसँगै लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

यस्तै, आज राति कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा धेरै ठूलो वर्षा हुने सम्भावना रहेकाले स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सर्दै नेपालको तराई भू–भाग नजिक रहेकाले देशभर वर्षाको सक्रियता बढेको मौसमविद्ले बताएका छन्। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो र तराईमा डुबानको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेका छन्।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  ०६:२६
प्रतिक्रिया दिनुहोस्