सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ,५ साउन - पछिल्लो समय नेपालमा बनेको अचार विभिन्न मुलुकमा पुग्न थालेको छ । चालु आर्थिक वर्षको ११ महिनामा मात्र २१ करोड १६ लाख ९८ हजार रुपैयाँ बराबरको अचार निर्यात भएको भन्सार विभागको तथ्यांक छ । यस वर्ष इटाली, अस्ट्रेलिया, बेलायत, क्यानडा, जापान, कोरिया, अमेरिका, बेल्जियम, मौरिसस, डेनमार्क, यूएई, मलेसिया र भारतमा अचार निर्यात भएको विभागले जनाएको छ ।
पछिल्ला ११ महिनामा सबैभन्दा बढी इटालीमा ३ करोड ७३ लाख ८७ हजार रुपैयाँको ५७ हजार २ सय ६७ किलो अचार निर्यात भएको छ । अस्ट्रेलियामा ३ करोड ६४ लाख ८९ हजार र बेलायतमा ३ करोड ६१ लाख ६ हजार रुपैयाँको अचार निर्यात भएको थियो । सबैभन्दा कम भारतमा ४ हजार रुपैयाँको अचार निर्यात भएको विभागको भनाइ छ ।
भारतमा अचार निर्यात न्यून देखिए पनि आयात भने बढ्दो छ । भारतबाट ३ करोड ३३ लाख ९१ हजार रुपैयाँको अचार आयात भएको छ । चीनबाट ८ करोड ४८ लाख ८१ हजार, कोरियाबाट ३ लाख ६५ हजार, जापानबाट ३७ हजार र भुटानबाट २ हजार रुपैयाँको अचार आयात भएको विभागको तथ्यांक छ ।
विभागका अनुसार अचार आयात र निर्यात बढ्दो छ । चालु आर्थिक वर्षको ११ महिनामा २१ करोड १६ लाख ९८ हजार रुपैयाँको अचार निर्यात हुँदा ११ करोड ८६ लाख ७५ हजार रुपैयाँको आयात भएको छ । आर्थिक वर्ष २०८१/८२ मा १८ करोड २६ लाख ४६ हजार रुपैयाँको अचार निर्यात हुँदा ९ करोड २१ लाख ६१ हजार रुपैयाँको अचार आयात भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा १५ करोड ८ लाख १७ हजार रुपैयाँको अचार निर्यात हुँदा ७ करोड २१ लाख ६४ हजार रुपैयाँको अचार आयात भएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा नेपालबाट १० करोड ९८ लाख ४४ हजार रुपैयाँ बराबरको अचार बाहिरिएको छ । उक्त वर्ष १० करोड २ लाख रुपैयाँको अचार आयातसमेत भएको थियो । २०७८/७९ मा ३ करोड ८६ लाख ६४ हजारको अचार निर्यात हुँदा आर्थिक वर्ष २०७७/७८ मा ३९ लाख २२ हजार रुपैयाँको मात्रै अचार विदेश गएको छ । २०७८/७९ मा ७ करोड ६४ लाख ६१ हजार रुपैयाँ र २०७७/७८ मा २ करोड ५२ लाख ३४ हजारको अचार आयात भएको थियो ।
पछिल्लो समय व्यावसायिक रूपमै अचार उत्पादन हुन थालेको छ । गृहिणीदेखि विद्यार्थी र पूर्वसांसदसम्म अचार उद्यममा लागेको देखिएको छ । ‘आमाको अचार’की संगीता पाण्डेले ३ हजार रुपैयाँमा १० किलो डल्ले खुर्सानीबाट अचार उद्यम सुरु गरेकी थिइन् । कान्तिपुरद्वारा आयोजित निर्भीक नारीको कार्यक्रममा पाण्डेले किलोबाट सुरु गरेको अचार उद्यम अहिले टन–टनमा पुगिसकेको जनाइन् ।
‘मैले १० किलो डल्लेको अचारबाट सुरु गरेकी थिएँ, अहिले टन–टनको बन्छ,’ उनले भनिन्, ‘यसपालि डेढ टन खुर्सानीको बनाएँ । तामा, करेला, आँप, काँक्रो जस्ता टन–टनमा सामान ल्याएर अचार बनाएर बेच्छु ।’ आफूलाई भुलाउने बाटोका लागि ४९ वर्षको उमेरमा अचार उद्यम सुरु गरेकी पाण्डेको उद्यमले १४ वर्ष पार गरिसकेको छ । ‘श्रीमान्को कमाइमा भर नपरौं, हामी भान्सामा मात्र सीमित हुनुहुँदैन,’ उनले भनिन्, ‘१० किलो डल्ले खुर्सानीको अचारबाट सुरु गरेको व्यवसाय यहाँसम्म पुग्ला भनेर सोचेकी थिइनँ ।’
आमाको अचार ९० प्रतिशत निर्यात हुने गरेको उनले सुनाइन् । आमाको अचार ब्रान्डमा आँप, मेथी, आलसको छोप, गुन्द्रुक, भटमास, लप्सी, मुला, हरियो खुर्सानीलगायतको अचार बनाउने गरेकी छन् । साथै कुटेको मसलाअन्तर्गत चिकेन मसला, बेसार, बिर्यानी मसला, बफ मसला, चिया मसला, चाट मसला, सुकुटीलगायत बिक्री गर्दै आएकी छन् ।
पूर्वसांसद शान्ता चौधरीले समेत नियमित आम्दानीको स्रोतका लागि अचार व्यवसाय सुरु गरेकी छन् । अनौपचारिक रूपमा एक वर्षअघिदेखि व्यवसाय सुरु गरे पनि उनले औपचारिक रूपमा भने पुस २०८० देखि दाङमा ‘शान्ताको अचार उद्योग’ सुरु गरेकी हुन् ।
अचार बनाउने आफ्नै सीपलाई व्यावसायिक रूपमा लैजाँदा नियमित आम्दानीको स्रोत बन्ने भएकाले अचार उद्योग सुरु गरेको समेत उनले सुनाइन् । अचार बनाउने रहर नभएर बाध्यता भएको र त्यो नै प्रेरणाको स्रोत भएको उनले जनाइन् । ‘नयाँ परिकार बनाएर खानु मेरो स्वभाव हो, अचार पनि थरीथरीका बनाएर खान्छु,’ उनले भनिन्, ‘मसँग जुन सीप छ, त्यसमा आफ्नो समय खर्चिनुपर्छ भन्ने हो ।’ अचार बनाउन सुरु गर्दा उनले पाँच सय रुपैयाँ खर्चिएकी थिइन् । अहिले उनले ३५ जनालाई रोजगारी दिइरहेकी छन् ।