आजकाे माैसम

आज  देशभर मनसुन सक्रिय: बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको चेतावनी

आइतबार, साउन १०, २०८३

काठमाडौं, १० साउन - देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न प्रदेशमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले बागमती, गण्डकी र कर्णाली प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। अहिले कोशी प्रदेशको तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहे पनि बाँकी अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने र तराईमा आंशिक बदली हुने अनुमान गरिएको छ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। बागमती र गण्डकीका तराईका केही स्थान तथा कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा राति पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने चेतावनी दिँदै जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन अनुरोध गरेको छ।

प्रकाशित मिति: आइतबार, साउन १०, २०८३  ०६:४७
प्रतिक्रिया दिनुहोस्