सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
देउखुरी,२० साउन - लुम्बिनी प्रदेशमा विगत पाँच वर्षको सवारी दुर्घटनाको तथ्यांकले दुईपाङ्ग्र्रे सवारीसाधन सबैभन्दा बढी दुर्घटनामा पर्ने गरेको देखाएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ देखि २०८१÷०८२ सम्म जिल्लागतरूपमा रुपन्देहीमा सबैभन्दा धेरै दुर्घटना भएको तथ्यांकले देखाएको छ । पाँच वर्षको अवधिमा ७ हजार ८ सय ६६ दुर्घटना भएका छन् । जसमा १० हजार ९ सय ८८ सवारी साधन परेका छन् । दुर्घटनामा परी २ हजार पाँच सय २५ जनाको मृत्यु, ५ हजार ४ सय १६ जना गम्भीर र ६ हजार ८ सय ४ जना सामान्य घाइते भएको तथ्यांक राष्ट्रिय सडक सुरक्षा परिषद्ले सार्वजनिक गरेको छ ।
तथ्यांकअनुसार पाँच वर्षको अवधिमा दुईपाङ्ग्र्रे सवारीसाधन ६ हजार २ सय ७१ दुर्घटनामा परेका छन् । यो संख्या कार तथा जीपको तुलनामा करिब पाँच गुणा बढी हो । सोही अवधिमा कार तथा जीप १ हजार १ सय ४५, ट्रक तथा ट्यांकर ५ सय ९१, बस ५ सय ७३, ट्याम्पो ५ सय ४७, ट्रेक्टर ५ सय ४५, टिप्पर ३ सय २, माइक्रोबस १ सय ५६, डोजर, लोडर तथा एक्साभेटर ३६ र अन्य ९१ वटा सवारी दुर्घटनामा परेका छन् ।
जिल्लागत विवरणअनुसार रुपन्देहीमा सबैभन्दा बढी १ हजार ७ सय ६६ दुर्घटना भएका छन् । ती दुर्घटनामा ५ सय ८४ जनाको मृत्यु, एक हजार एक सय ३६ जना गम्भीर घाइते भएका छन् । दाङमा १ हजार १ सय २८ दुर्घटनामा ३ सय ९८ जनाको मृत्यु, १ हजार ७९ जना गम्भीर घाइते भएका छन् । बाँकेमा १ हजार १ सय ५९ दुर्घटनामा ३ सय ५२ जनाको मृत्यु, २ हजार ५ सय ११ जना गम्भीर घाइते भएका छन् । कपिलवस्तुमा १ हजार ११ दुर्घटनामा ३ सय ४३ जनाको मृत्यु र ७ सय ५३ जना गम्भीर घाइते भएका छन् । नवलपरासी पश्चिममा ९ सय २० दुर्घटनामा १ सय ९६ जनाको मृत्यु र ६ सय ८८ जना गम्भीर घाइते भएका छन् । बर्दियामा ८ सय ३४ दुर्घटनामा १ सय ७९ जनाको मृत्यु र ४ सय ३८ जना गम्भीर घाइते भएका छन् ।
पहाडी जिल्लामध्ये पाल्पामा ३ सय १९ दुर्घटनामा १ सय ४८ जनाको मृत्यु, गुल्मीमा १ सय ५२ दुर्घटनामा ६८ जनाको मृत्यु, अर्घाखाँचीमा १ सय ७१ दुर्घटनामा ५४ जनाको मृत्यु, प्युठानमा १ सय ७१ दुर्घटनामा ९८ जनाको मृत्यु, रोल्पामा १ सय ७८ दुर्घटनामा ८३ जनाको मृत्यु तथा रुकुम पूर्वमा ५७ दुर्घटनामा २२ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । दुईपाङ्ग्र्रे सवारी चालक र यात्रु सबैभन्दा बढी दुर्घटनाको जोखिममा रहेको देखाएको छ । सडकको अवस्था, सवारी साधनको प्राविधिक गुणस्तर, चालकको लापरवाही र ट्राफिक नियमको पालनामा कमजोरी दुर्घटनाका प्रमुख कारणका रूपमा औंल्याइँदै आएका छन् ।
युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउन सके सवारी दुर्घटनामा उल्लेख्य कमी ल्याउन सकिने बताउनुभएको छ । प्रदेशस्तरीय सडक सुरक्षासम्बन्धी कार्यशालालाई लमहीमा मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको र त्यसमा विशेषगरी १६ देखि ३० वर्ष उमेर समूहका युवाको संलग्नता तथा क्षति बढी देखिएको बताउनुभयो । उहाँले यसलाई प्रदेशकै सबैभन्दा ठूलो चुनौती र चिन्ताको विषयका रूपमा उल्लेख गर्नुभयो । उहाँले विद्यालय तहदेखि नै सडक सुरक्षा सम्बन्धी सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य गरेर युवालाई प्रशिक्षित र अनुशासित बनाउनुपर्ने बताउनुभयो । प्रदेश सरकारले यसमा आवश्यक साझेदारी गर्न तयार रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीले गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरले सवारी दुर्घटना न्यूनीकरणका लागि नियम कानुनको इमान्दारीपूर्वक पालना र सडक सुरक्षा सम्बन्धी प्रशिक्षण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख सचिव कृष्णप्रसाद काप्रीसहित विभिन्न मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तह र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा ‘मृत्यु र गम्भीर घाइते शून्यमा झारौं’ भन्ने लक्ष्यसहित सडक सुरक्षा प्रवद्र्धनका लागि साझा प्रतिबद्धता व्यक्त गरिएको थियो ।