दाङका वन क्षेत्रमा अवैध हतियार खोजी अभियान, ५५ नाल बरामद

बंगलाचुलीदेखि लमहीसम्म वन क्षेत्रमा भेटिए ५५ नाल भरुवा बन्दुक
बुधबार, साउन २०, २०८३

दाङ, २० साउन दाङका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट प्रहरीले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका ५५ नाल भरुवा बन्दुक बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार साउन १६ गतेदेखि १९ गतेसम्म जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा विशेष खोजतलास अभियान सञ्चालन गरिएको थियो। अभियानमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट खटिएका प्रहरी टोली सहभागी भएका थिए।

खोजतलासका क्रममा बंगलाचुली गाउँपालिका–४, ५, ६, ७ र ८ अन्तर्गत रहेका हिमाल लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख, ल्वाङे–भत्कुले, न्यु कालिका र नव चेतनशील सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट ४८ नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी लमही नगरपालिका–९ स्थित बिरह सामुदायिक वनबाट थप सात नाल भरुवा बन्दुक फेला परेको छ। बरामद गरिएका सबै बन्दुकका नाल बेवारिसे अवस्थामा रहेका थिए।

प्रहरीले बरामद गरिएका भरुवा बन्दुकका नाल कसले, कहिले र कुन प्रयोजनका लागि वन क्षेत्रमा लुकाएर राखेको भन्ने विषयमा अनुसन्धान अगाडि बढाइएको जनाएको छ। अवैध हतियार नियन्त्रण तथा सम्भावित आपराधिक गतिविधि रोकथामका लागि यस्ता विशेष अभियानलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ। 

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १७:३२
प्रतिक्रिया दिनुहोस्