सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ, २१ साउन - दाङको दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका योजना, कार्यक्रम तथा सेवा प्रवाहको समग्र मूल्याङ्कन गर्दै वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।
बिहीबार गाउँपालिकाको सभाहलमा प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न शाखामार्फत सञ्चालन भएका गतिविधि, उपलब्धि, चुनौती र सुधारका सम्भावित क्षेत्रबारे विस्तृत समीक्षा गरिएको हो।
कार्यक्रममा शाखा प्रमुखहरूले आर्थिक वर्षभरि सम्पन्न भएका कामको विवरण प्रस्तुत गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सुझावसमेत दिएका थिए। समीक्षा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले विगतका उपलब्धि र कमजोरीहरूको वस्तुगत मूल्याङ्कनबाट आगामी योजना तथा कार्यक्रमलाई अझ प्रभावकारी, परिणाममुखी र जनउत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले समीक्षा प्रक्रियाबाट प्राप्त सुझाव तथा अनुभवलाई आगामी कार्ययोजनामा समेट्दै सुशासन, पारदर्शिता र गुणस्तरीय सेवा प्रवाहलाई थप सुदृढ बनाइने बताउनुभयो।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले गाउँपालिकाले हासिल गरेका उपलब्धिहरू उत्साहजनक रहे पनि केही चुनौती तथा सुधार गर्नुपर्ने पक्षहरू रहेको उल्लेख गर्नुभयो। उहाँले कमजोरीहरूलाई स्वीकार गर्दै आगामी दिनमा अझ योजनाबद्ध, पारदर्शी, उत्तरदायी र परिणाममुखी ढंगले कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वरिष्ठ शिक्षा अधिकृत बिनोद अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विपद् शाखा प्रमुख यादव डाँगीले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, शाखा प्रमुख, कर्मचारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।