राप्तीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, ३ सय १९ जनाले लिए सेवा

शुक्रबार, साउन २२, २०८३

सिसहनियाँ, २२ साउन - दाङको राप्ती गाउँपालिका–५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालमा शुक्रबार आयोजित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ३ सय १९ जनाले स्वास्थ्य सेवा लिएका छन्।

राप्ती गाउँपालिकाको आयोजना, लायन्स क्लब अफ राप्ती क्यापिटलको समन्वय तथा ओसीसार स्वास्थ्य परामर्श, बुटवलको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा २ सय २३ महिला र ९६ पुरुषले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा लिएका हुन्।WhatsApp-Image-2026-08-07-at-17.55.07-(1)-1786105671.jpegशिविरमा भिडियो एक्सरे सेवा ६४ जना, एक्सरे सेवा २९ जना र प्रयोगशाला सेवा ७२ जनालाई प्रदान गरिएको अस्पतालले जनाएको छ। आवश्यक औषधि समेत वितरण गरिएको थियो।

शिविरमा हाडजोर्नी तथा नशा रोग, जनरल सर्जरी, युरोलोजी, रेडियोलोजी तथा एनेस्थेसिया सेवासम्बन्धी विशेषज्ञ चिकित्सकहरूले सेवा दिएका थिए।

राप्ती गाउँपालिका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्टले ग्रामीण क्षेत्रका नागरिकलाई गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो।

उहाँका अनुसार हाडजोर्नी, नशा, मिर्गौला तथा पिसाबसम्बन्धी समस्या भएका बिरामीलाई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण र परामर्श लिन सहज भएको छ। यस्ता स्वास्थ्य शिविरलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो।

शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. राजकृष्ण श्रेष्ठ, जनरल सर्जन डा. नवीन श्रेष्ठ, युरोसर्जन डा. सगुन थापा, रेडियोलोजिस्ट डा. तृष्णा श्रेष्ठ तथा एनेस्थेसियोलोजिस्ट डा. बिमेश शाक्यले सेवा प्रदान गरेका थिए।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  १८:१३
प्रतिक्रिया दिनुहोस्
समाचार