सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ, २२ साउन - दाङको बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। समीक्षा कार्यक्रममा गाउँपालिकाले गत आर्थिक वर्षमा ८१.४५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जानकारी दिएको छ।
कमिरेचौरमा गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा शिक्षा, पूर्वाधार विकास, स्वास्थ्य, कृषि, पशु सेवा, लघु उद्यम प्रवर्द्धन, सामाजिक सुरक्षा तथा आन्तरिक राजस्व संकलनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको तथ्य प्रस्तुत गरिएको थियो।समीक्षा कार्यक्रममा प्रस्तुत विवरणअनुसार गाउँपालिकाले आन्तरिक राजस्व संकलनतर्फ निर्धारित लक्ष्यभन्दा ४६ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको जनाएको छ। यसलाई गाउँपालिकाको वित्तीय व्यवस्थापन र राजस्व परिचालनको सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल तथा आर्थिक प्रशासन शाखा प्रमुख नारायण आचार्यले आर्थिक वर्षभर सञ्चालन भएका योजना, कार्यक्रम र वित्तीय अवस्थाबारे जानकारी गराएका थिए।समीक्षा कार्यक्रममा वडा नम्बर १, २, ३, ४, ५, ६ र ८ का वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले आगामी आर्थिक वर्षमा विकास निर्माण, सेवा प्रवाह तथा राजस्व वृद्धि सम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझावसमेत दिएका थिए।