सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
सिसहनियाँ,२३ साउन - राप्ती गाउँपालिका–४ सिमलखुटीमा नवनिर्मित सार्वजनिक प्रतीक्षालयको उद्घाटन गरिएको छ। प्रतीक्षालयको उद्घाटन गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शनिबार गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्टले स्थानीयवासीको आफ्नै पहल, श्रम र सहयोगबाट निर्माण भएको प्रतीक्षालय समुदायको एकता र सहकार्यको उदाहरण भएको बताउनुभयो। तिहारमा भैलो खेलेर संकलन गरेको रकमलाई सार्वजनिक हितमा लगाएर स्थानीयले अनुकरणीय काम गरेको भन्दै उहाँले प्रशंसा गर्नुभयो। प्रतीक्षालय निर्माणका लागि आफूले पनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष विष्टले स्थानीयको सानो–सानो सहयोग र सामूहिक प्रयासबाट पनि गाउँको विकासमा महत्वपूर्ण योगदान पुर्याउन सकिने बताउनुभयो। निर्माण भएको संरचनालाई आफ्नो सम्पत्तिका रूपमा अपनत्व लिएर संरक्षण र सदुपयोग गर्न उहाँले स्थानीयवासीलाई आग्रह गर्नुभयो।
सामाजिक अभियन्ता तथा सहयोगदाता किरण खनालले स्थानीयको पहल र सामूहिक प्रयासबाट प्रतीक्षालय निर्माण हुनु प्रशंसनीय काम भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि स्थानीय आवश्यकता र सामाजिक कार्यका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रतीक्षालय निर्माण समितिका अध्यक्ष बेगम गिरीका अनुसार स्थानीयले गत वर्षको तिहारमा भैलो खेलेर संकलन गरेको रकम तथा अन्य दाताबाट प्राप्त सहयोग र जनश्रमदान गरी कुल ३ लाख २८ हजार ७ सय ३ रुपैयाँको लागतमा प्रतीक्षालय निर्माण गरिएको हो।
कार्यक्रममा सहयोगदाता दोर्ण जिसी, ज्ञानबहादुर केसी,अदिप गुरुङ,टोललाल गिरीलगायत चन्दादाता तथा स्थानीयको उपस्थिति थियो।
कार्यक्रम प्रतीक्षालय निर्माण समितिका अध्यक्ष बेगम गिरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। सो अवसरमा प्रतीक्षालय परिसरमा विभिन्न जातका फूलका बिरुवासमेत रोपिएको थियो।