श्री लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक वितरण

शुक्रबार, साउन २९, २०८३

दाङ, २९ साउन - दाङको शान्तिनगर गाउँपालिका–१, हारिचारस्थित श्री लक्ष्मी आधारभूत विद्यालयमा विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरिएको छ।

विद्यालयमा बिहीबार आयोजित कार्यक्रममा बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको हो। विद्यार्थीहरूमा अनुशासन, एकरूपता तथा विद्यालयप्रतिको अपनत्वको भावना विकास गर्ने उद्देश्यले पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक कल्पना पुनले जानकारी दिनुभएकाे छ ।

विद्यालय पोशाक प्राप्त गरेपछि विद्यार्थीहरूमा थप उत्साह र उमङ्ग देखिएको थियो। पोशाकले विद्यार्थीहरूमा विद्यालयप्रतिको जिम्मेवारी र अपनत्व बढाउनुका साथै विद्यालयको वातावरणलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्कर वि.क. प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको अध्यक्षता प्रधानाध्यापक कल्पना पुनले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक एकराज गौतमले गर्नुभएको थियो।

विद्यालयले विद्यार्थीको शैक्षिक विकाससँगै अनुशासन र विद्यालयप्रतिको सकारात्मक भावना अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  ०९:१४
प्रतिक्रिया दिनुहोस्