शान्तिनगरमा विषयविज्ञको सूचीमा सूचीकृत हुन आवेदन आह्वान

मंगलबार, भदौ २, २०८३

दाङ, २ भदौ - शान्तिनगर गाउँपालिकाले सामुदायिक विद्यालयमा रिक्त हुने विभिन्न शिक्षक तथा कर्मचारी पदपूर्तिका लागि आवश्यक पर्ने विषयविज्ञको सूचीमा सूचीकृत हुन योग्य शिक्षकहरूबाट आवेदन आह्वान गरेको छ।

गाउँपालिकाले शिक्षा (दशौँ संशोधन) नियमावली, २०७९ को नियम १६क को उपनियम (८) को खण्ड (ग) प्रयोजनका लागि विषयविज्ञको सूची अद्यावधिक गर्नुपर्ने भएकाले आवेदन माग गरेको हो।

गाउँपालिकाले जारी गरेको दोस्रो पटक म्याद थपसम्बन्धी सूचना अनुसार इच्छुक शिक्षकहरूले भदौ ५ गतेभित्र गाउँ कार्यपालिकाको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ।

सूचनाअनुसार माध्यमिक तह (कक्षा ९–१२) तथा आधारभूत तह (कक्षा १–५ र ६–८) का लागि विषयविज्ञका रूपमा सूचीकृत हुन सम्बन्धित शिक्षकले आवश्यक शैक्षिक योग्यता तथा अध्यापन अनुभव पूरा गरेको हुनुपर्नेछ।

माध्यमिक तहका लागि शिक्षा शास्त्र विषयमा कम्तीमा स्नातकोत्तर तथा स्नातक तह उत्तीर्ण गरेको र सम्बन्धित विषयमा माध्यमिक तहको स्थायी शिक्षकका रूपमा कम्तीमा तीन वर्ष अध्यापन गरेको हुनुपर्नेछ।

त्यस्तै, आधारभूत तह कक्षा ६–८ का लागि सम्बन्धित विषयमा तथा कक्षा १–५ का लागि प्राथमिक तहमा स्थायी शिक्षकका रूपमा कम्तीमा तीन वर्ष अध्यापन गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।

आवेदकले माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्र, स्थायी नियुक्तिपत्र, शिक्षण अध्यापन अनुमति पत्र (Teaching License) लगायतका प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ। साथै, प्रचलित कानुनअनुसार विषयविज्ञ हुन अयोग्य नरहेको स्वघोषणापत्रसमेत बुझाउनुपर्नेछ।

गाउँपालिकाले माध्यमिक तहका लागि रु. १ हजार र आधारभूत तहका लागि रु. ५०० आवेदन शुल्क तोकेको छ। आवेदन शुल्क गाउँपालिकाको राजस्व खातामा दाखिला गरी राजस्व तिरेको सक्कल रसिद आवेदनसँग संलग्न गर्नुपर्नेछ।

गाउँपालिकाका अनुसार विषयविज्ञको सूची अद्यावधिक भएपछि सामुदायिक विद्यालयमा रिक्त हुने शिक्षक तथा कर्मचारी पदपूर्तिसम्बन्धी कार्यमा त्यसको प्रयोग गरिनेछ।

थप जानकारीका लागि शान्तिनगर गाउँपालिकाको शिक्षा शाखामा सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १४:४८
प्रतिक्रिया दिनुहोस्
समाचार