लागूऔषध नियन्त्रणमा आमाको भूमिका बढाउन राप्तीमा प्रशिक्षण हुँदै

शुक्रबार, भदौ १२, २०८३

भालुबाङ१२,भदाै - लागूऔषधको प्रयोगबाट बालबालिका तथा युवालाई सुरक्षित राख्न अभिभावक, विशेषगरी आमाको भूमिका महत्वपूर्ण हुने भन्दै राप्ती गाउँपालिकामा ‘लागूऔषध सेवन गरेको थाहा पाउने आमा प्रशिक्षण कार्यक्रम’ आयोजना हुने भएको छ।

इलाका प्रहरी कार्यालय भालुबाङ दाङको आयोजना तथा राप्ती गाउँपालिकाको समन्वयमा कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रम यही भदौ १४ गते आइतबार बिहान ११ बजे राप्ती गाउँपालिकाको सभाहल, मसुरियामा हुने आयोजकले जनाएको छ।

कार्यक्रममा नेपाल प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक एवं नार्कोनन नेपालका निर्देशक बसन्त राज कुँवरले प्रमुख प्रशिक्षकका रूपमा प्रशिक्षण दिनुहुनेछ।

लागूऔषधको बढ्दो प्रयोग तथा यसबाट उत्पन्न हुनसक्ने नकारात्मक असरबाट बालबालिका र युवालाई जोगाउन अभिभावकलाई सचेत तथा सक्षम बनाउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको हो।

विशेषगरी आफ्ना छोराछोरी लागूऔषधको प्रयोगतर्फ लागे–नलागेको प्रारम्भिक अवस्थामै पहिचान गर्न सक्ने ज्ञान र सीप आमाहरूलाई प्रदान गरिने आयोजकको भनाइ छ।

कार्यक्रममा जनप्रतिनिधि,विभिन्न संघसंस्थाका प्रमुख,महिला स्वास्थ्य स्वयंसेविका,आमा समूह,अभिभावक तथा आमाहरूको सहभागिता रहनेछ। 

लागूऔषध नियन्त्रण तथा युवालाई यसको जोखिमबाट जोगाउन परिवार र समुदायको भूमिका महत्वपूर्ण हुने भएकाले यस्ता सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिइएको छ।

राप्ती गाउँपालिकाले विभिन्न संघसंस्थाहरुकाे समन्वयमा निरन्तर रुपमा यस किसिमका सामाजिक तथा स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  २०:४७
प्रतिक्रिया दिनुहोस्
समाचार