लुम्बिनी सरकारले बाढीप्रभावित उद्धारकोषमा तीन करोड दिने

शनिबार, भदौ १३, २०८३

दाङ,१३ भदाै -  लुम्बिनी प्रदेश सरकारले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारका तर्फबाट विपद् प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई ३ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने बताए।

यसैगरी लुम्बिनी प्रदेशभित्र स्थायी रूपमा बसोवास गर्ने नागरिक विपद्मा परी मृत्यु भएमा उनीहरूका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने भएको छ।

यसैगरी सरकारले विपद्का समयमा प्रदेशभित्रका उद्योगी व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आ–आफ्नो ठाउँबाट राहत तथा सहयोग उपलब्ध गराउन पनि अपिल गरेको छ।
 

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  ०७:२५
प्रतिक्रिया दिनुहोस्
समाचार