खाजा खर्च कटाएर अमृत विद्या मन्दिरका विद्यार्थीले गरे बाढीपीडितलाई १३ हजार ४६० रुपैयाँ सहयोग

मंगलबार, भदौ १६, २०८३

दाङ, १६ भदौ - दाङको शान्तिनगर गाउँपालिका–३ मा रहेको अमृत विद्या मन्दिर सेकेन्डरी विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर बाढीपहिरो प्रभावितका लागि सहयोग गरेका छन्।

विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्चबाट रकम छुट्याएर जम्मा गरेको १३ हजार ४६० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हुन्।

विद्यालयका अनुसार साना नानीबाबुहरूले आफूले जम्मा गरेको रकम विद्यालयमा हस्तान्तरण गर्दै बाढीपीडितको सहयोगमा प्रयोग गरिदिन आग्रह गरेका छन्।

‘सहयोग गर्न धन होइन, ठूलो मन चाहिन्छ’ भन्ने भावनासहित विद्यार्थीहरूले गरेको यो सहयोगले विपद्को समयमा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको विद्यालयले जनाएको छ।

विद्यालयले विद्यार्थीहरूको यो कदम सबैका लागि पाठ र प्रेरणाको विषय भएको बताएको छ। बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थीहरूले आफ्नो व्यक्तिगत खर्चबाट रकम बचत गरी सहयोग गरेको विद्यालयले जनाएको हो।

विद्यालयले सामाजिक सञ्जाल फेसबुकमार्फत समेत विद्यार्थीहरूले बाढीपीडितका लागि गरेको सहयोगबारे जानकारी सार्वजनिक गरेको छ।

सानो उमेरमै आफ्नै खाजा खर्च कटाएर विपद्मा परेका नागरिकका लागि सहयोग गर्नुले विद्यार्थीहरूमा सामाजिक भावना र मानवीय सेवाको भावना विकास हुँदै गएको सन्देश दिएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १४:५५
प्रतिक्रिया दिनुहोस्
समाचार