भोटेकोशी बाढीमा बेपत्ता राप्तीका चार नागरिक अझै भेटिएनन्, परिवारमा बढ्यो चिन्ता खोजीका लागि गाउँपालिका अध्यक्ष विष्ट प्रभावित क्षेत्रमा

बुधबार, भदौ १७, २०८३

दाङ, १७ भदौ -। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी सम्पर्कविहीन भएका दाङको राप्ती गाउँपालिकाका चार नागरिक अझै फेला परेका छैनन्।

लामो समयसम्म आफन्तको सम्पर्कमा नआएपछि परिवारमा चिन्ता थपिँदै गएको छ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि मजदुरीका लागि रसुवा पुगेका उनीहरू सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीन हुनेमा राप्ती गाउँपालिका–३ बसन्तपुरका २६ वर्षीय सर्वेस चौधरी, वडा नम्बर ४ मौरिघाटका ४५ वर्षीय रामबहादुर चौधरी, सोही वडाका २२ वर्षीय सिजन चौधरी र वडा नम्बर ६ बगरापुरका २४ वर्षीय अनिल चौधरी रहेका छन्।

बेपत्ता नागरिकको अवस्था बुझ्न तथा खोजी कार्यमा समन्वय गर्न राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट प्रभावित क्षेत्रमा पुग्नुभएको छ।

उहाँले घटनास्थल तथा आसपासका क्षेत्रमा भइरहेको खोजी कार्यबारे जानकारी लिनुका साथै सम्बन्धित निकायसँग समन्वय गर्नुभएको छ।

अध्यक्ष विष्ट प्रभावित क्षेत्रमा पुगेर खोजी कार्यमा सक्रिय भएपछि परिवारजनले बेपत्ता आफन्तको अवस्था छिट्टै पत्ता लाग्ने आशा व्यक्त गरेका छन्। दुःखको समयमा गाउँपालिका अध्यक्ष स्वयं प्रभावित क्षेत्रमा पुगेर खोजी तथा समन्वयमा चासो देखाएकामा उनीहरूले आभारसमेत व्यक्त गरेका छन्।

परिवारका अनुसार यसअघि पनि आफन्तको खोजीका लागि चितवनसम्म पुगेर विभिन्न स्थानमा खोजी गरिएको थियो। तर कुनै पत्तो लाग्न सकेको छैन।

अध्यक्ष विष्टले बेपत्ता नागरिकको खोजीमा कुनै कसर बाँकी नराखिने बताउनुभएको छ। उहाँले सम्भव भएसम्म सबै निकायसँग समन्वय गरेर खोजी कार्यलाई निरन्तरता दिइरहेको बताउनुभयो।

“बेपत्ता भएका हाम्रा नागरिकको खोजीका लागि सम्भव भएसम्म सबै निकायसँग समन्वय गरेर अघि बढिरहेका छौँ। परिवारमा रहेको आशालाई निराशामा बदलिन नदिई सम्भावनाको अन्तिम सीमासम्म खोजी जारी राख्नेछौँ,” उहाँले भन्नुभयो।

भोटेकोशीमा आएको बाढी र पहिरोका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। गाउँपालिकाले बेपत्ताको अवस्था पत्ता लगाउन सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको जनाएको छ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १८:२१
प्रतिक्रिया दिनुहोस्
समाचार