ई–ड्राइभ’ले दाङको पर्यटनदेखि व्यवसायसम्म नयाँ सम्भावनाको ढोका खोल्यो : बिनील के.सी

शुक्रबार, भदौ १९, २०८३

दाङ, १९ भदौ - तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनील केसीले दाङमा ‘ई–ड्राइभ’ सेवा सञ्चालनमा आएसँगै यातायात क्षेत्रमा मात्र नभई पर्यटन, व्यापार–व्यवसाय र प्रविधिको क्षेत्रमा समेत नयाँ सम्भावनाको ढोका खुलेको बताउनुभएको छ।

अध्यक्ष केसीले दाङलाई अब परम्परागत व्यवसायिक शैलीमा मात्र सीमित नराखी प्रविधिमैत्री, डिजिटल र आधुनिक व्यवसायिक गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

एपमार्फत सवारी बुकिङ गर्ने र यात्रुलाई घरकै ढोकासम्म सेवा दिने प्रणालीले नागरिकको दैनिक जीवनलाई सहज बनाउने उहाँको भनाइ छ। उहाँले ‘ई–ड्राइभ’लाई यातायात सेवा मात्र नभई दाङलाई प्रविधिसँग जोड्ने अभियानका रूपमा लिनुपर्ने बताउनुभयो।

‘ई–ड्राइभ एउटा यातायात सेवा मात्रै होइन, दाङलाई प्रविधिसँग जोड्ने अभियान पनि हो,’ केसीले भन्नुभयो, ‘यसले यातायातको शैली परिवर्तन गर्नुका साथै पर्यटन र व्यवसायलाई पनि डिजिटल माध्यमबाट अगाडि बढाउन प्रेरणा दिनेछ।’

दाङका विभिन्न पर्यटकीय स्थलमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज, सुरक्षित र व्यवस्थित यातायात सेवा उपलब्ध गराउन सके यसले पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष योगदान पुर्‍याउने उहाँले बताउनुभयो।

पछिल्लो समय दाङमा प्रविधिको प्रयोग बढ्दै गएको उल्लेख गर्दै केसीले डिजिटल भुक्तानी, अनलाइन सेवा, ई–कमर्स, एपमा आधारित यातायातलगायत प्रविधिमैत्री व्यवसायलाई थप प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो।

त्यसका लागि निजी क्षेत्र र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। प्रविधिको विस्तारसँगै स्थानीय उत्पादन, पर्यटन, उद्योग, व्यापार तथा सेवा क्षेत्रलाई डिजिटल माध्यमबाट जोड्न सके जिल्लाको आर्थिक गतिविधिले थप गति लिने उहाँले बताउनुभयो।

‘दाङको पर्यटन, उद्योग, व्यापार र सेवा क्षेत्रलाई प्रविधिसँग जोड्न सकियो भने यहाँको आर्थिक गतिविधिले नयाँ गति लिन सक्छ,’ केसीले भन्नुभयो, ‘अबको दाङ स्मार्ट र प्रविधिमैत्री दाङ बन्नुपर्छ।

साभार :"> समृद्व प्रेस

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  २०:४३
प्रतिक्रिया दिनुहोस्
समाचार