एसीसी प्रिमियर कप सेमिफाइनलमा आज नेपाल र ओमान भिड्दै, फाइनल पुग्ने लक्ष्य

बिहीबार, भदौ २५, २०८३

काठमाडौँ, २५ भदौ - एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु हुनेछ।

समूह ‘ए’ को विजेता नेपाल र समूह ‘बी’ को उपविजेता ओमानबीचको खेल दुवै टोलीका लागि फाइनल प्रवेशका लागि महत्वपूर्ण रहेको छ। एसोसिएट क्रिकेटका दुई बलिया टोली नेपाल र ओमानबीच यसअघि पनि अन्तर्राष्ट्रिय क्रिकेटमा पटक–पटक प्रतिस्पर्धा हुँदै आएको छ।

एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा नेपाल र ओमानबीच अहिलेसम्म १० खेल भएका छन्। जसमा ओमानले ६ खेल जित्दा नेपालले ४ खेलमा जित निकालेको छ।

समूह चरणमा नेपालले बहराइनलाई ७ विकेट, मलेसियालाई ६ विकेट र साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो। अन्तिम खेलमा भने नेपाल हङकङसँग १५ रनले पराजित भएको थियो। यद्यपि, उत्कृष्ट नेट रनरेटका आधारमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

यता ओमानले समूह चरणमा दुई जित र दुई हारको नतिजा निकाल्दै समूह ‘बी’ को उपविजेताका रूपमा अन्तिम चारमा स्थान बनाएको हो।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली पछिल्लो समय उत्कृष्ट लयमा देखिएको छ। नेपाली टोलीका आसिफ शेख, देव खनाल, इशान पाण्डे र अर्जुन कुमालजस्ता ब्याटर लयमा छन्। बलिङतर्फ कप्तान सन्दीप लामिछाने र ललित राजवंशीको स्पिन तथा करण केसीको तीव्र गतिका बलिङलाई नेपालको मुख्य हतियारका रूपमा हेरिएको छ।

प्रतियोगिताको उपाधि जित्न सके नेपाल दोस्रो पटक एसीसी एसिया कपमा छनोट हुनेछ। एसिया कपमा भारत, पाकिस्तानलगायत एसियाली क्रिकेटका विश्वस्तरीय टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर नेपालले पाउनेछ।

यसअघि सन् २०२३ मा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपको पहिलो संस्करणमा नेपालले यूएईलाई पराजित गर्दै पहिलोपटक एसिया कपमा स्थान बनाएको थियो। पछिल्लो पटक टी–२० ढाँचामा भएको प्रतियोगितामा ओमानलाई पराजित गर्दै यूएई एसिया कपमा पुगेको थियो।

ओडीआई ढाँचामा भइरहेको यसपटकको एसीसी प्रिमियर कपमा एसियाली क्षेत्रका १० एसोसिएट राष्ट्र सहभागी छन्। आजको खेलमा जित निकाल्दै नेपाल फाइनल प्रवेशसँगै एसिया कपको टिकट पक्का गर्ने लक्ष्यमा हुनेछ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  ०६:५६
प्रतिक्रिया दिनुहोस्