नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, ओमानमाथि ८७ रनको शानदार जित

बिहीबार, भदौ २५, २०८३

काठमाडौँ ,२५ भदाै -  नेपाल तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा नेपालले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको ओमान २८ ओभर १ बलमा ६० रनमै अलआउट भयो।

ओमानका जतिन्दर सिंहले ४१ बलमा २५ तथा जितेन रामानन्दीले ४२ बलमा १३ रन बनाए। उनीहरूबाहेक ओमानका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३ विकेट लिए। यस्तै, ललित राजवंशी र रोहितकुमार पौडेलले समान २ विकेट लिएपछि ओमानको इनिङ्स ६० रनमै समेटिएको हो।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल ४५ ओभर ४ बलमा १ सय ४७ रनमा अलआउट भएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ७६ बलमा ५१ रन बनाए भने बसिर अहमदले ८८ बलमा ४७ रनको योगदान दिए।

ओमानका जय विराम ओडेदारा र हसनैन शाहले समान ३ विकेट लिए। मोहम्मद इमरानले २ तथा शकील अहमद र मुजिबुर अलीले समान १ विकेट लिए।

आजै भएको अर्को सेमिफाइनलमा यूएईले हङकङलाई ७ विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ।

नेपाल र यूएईबीचको फाइनल खेल शनिबार हुनेछ।

प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो। प्रतियोगिताको विजेताले सन् २०२७ मा हुने एसिया कप क्रिकेटमा सहभागिता जनाउने अवसर पाउनेछ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १८:३२
प्रतिक्रिया दिनुहोस्