लुम्बिनीमा एक महिनामै १ सय ८६ भरुवा बन्दुक बरामद, सबैभन्दा धेरै दाङबाट

बिहीबार, भदौ २५, २०८३

दाङ,२५ भदाै -  लुम्बिनी प्रदेशमा अवैधरुपमा लुकाइछिपाइ राखिएका हातहतियार तथा गोलीगठ्ठा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको अभियानका क्रममा साउन महिनामा मात्रै ठूलो परिमाणमा हतियार बरामद गरेको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार साउन महिनामा प्रदेशका विभिन्न जिल्लाबाट १ सय ८६ थान भरुवा बन्दुक बरामद भएका छन्। प्रहरीले वन क्षेत्र, बजार तथा बस्ती आसपास सञ्चालन गरेको खोजतलासका क्रममा भरुवा बन्दुकसँगै पेस्तोल, रिभल्वर, नक्कली हतियार, गोली, छर्रा, बारुद र क्यापसमेत बरामद गरेको हो।

जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै दाङबाट ९० थान भरुवा बन्दुक बरामद भएका छन्। यस्तै प्युठानबाट ६९, रोल्पाबाट आठ, कपिलवस्तुबाट छ, गुल्मी र रुकुमबाट पाँच–पाँच, अर्घाखाँचीबाट दुई तथा नवलपरासीबाट एक थान भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तै रुपन्देहीबाट एक थान रिभल्वर र एक थान नक्कली रिभल्वर तथा बर्दियाबाट एक नाल पेस्तोल बरामद भएको प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख छ।

चार दिनमा दाङबाट ५५ भरुवा बन्दुक

दाङमा साउन १६ देखि १९ गतेसम्म सञ्चालन गरिएको विशेष खोजतलास अभियानका क्रममा मात्रै ५५ नाल भरुवा बन्दुक बरामद भएका थिए।

जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट खटिएको टोलीले सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा विशेष निगरानीसहित खोजतलास गरेको थियो।

अभियानका क्रममा बंगलाचुली गाउँपालिका–४, ५, ६, ७ र ८ मा रहेका हिमाल लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख, ल्वाडे–भत्कुले, न्यु कालिका र नव चेतनशील सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट ४८ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेका थिए।

यस्तै लमही नगरपालिका–९ स्थित बिरह सामुदायिक वनबाट थप सात नाल भरुवा बन्दुक बरामद भएका थिए।

चार दिनमै ५५ नाल भरुवा बन्दुक फेला पर्नुले दाङका वन क्षेत्रमा अवैध हतियार लुकाएर राख्ने प्रवृत्ति रहेको देखाएको प्रहरीको अभियानबाट देखिन्छ। यसबाहेक दाङका अन्य स्थानबाट थप ३५ नाल भरुवा बन्दुक बरामद भएका थिए।

नक्कली हतियार देखाएर रकम असुलीको प्रयास

रुपन्देहीमा भने नक्कली हतियार देखाएर रकम असुल्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार साउन ८ गते सिद्धार्थनगर नगरपालिका–१३ का ४९ वर्षीय राकेशप्रताप राणालाई पक्राउ गरिएको हो।

ओमसतिया गाउँपालिका–४ बालापुरमा कोठा भाडामा बस्दै आएका राणाले आफूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको ‘घुमुवा प्रहरी’ भन्दै भैरहवा बजारका सर्वसाधारण तथा व्यापारीसँग रकम असुल्ने प्रयास गरेको प्रहरीले जनाएको छ।

भैरहवा बजारमा आफू प्रहरी भएको दाबी गर्दै पेस्तोल देखाएर १० हजार रुपैयाँ माग गरिरहेको अवस्थामा उनलाई सिद्धार्थनगर–१३ शान्तिनगरबाट पक्राउ गरिएको थियो।

उनको कोठामा खानतलासी गर्दा एक थान नक्कली रिभल्वर, ५ सय ग्राम गाँजा र २ हजार ६ सय रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।

रिभल्वर र गोलीसहित युवक पक्राउ

रुपन्देहीकै बुटवलमा साउन ५ गते रिभल्वर पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका थिए।

बुटवलस्थित नयाँ बसपार्क क्षेत्रमा शंकास्पद रुपमा हिँडडुल गरिरहेका मकवानपुरको बागमती गाउँपालिका–९ का २६ वर्षीय रेशम तुङसिङ मगरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

खानतलासी गर्दा उनको साथबाट एक राउण्ड गोली फेला परेको थियो। त्यसपछि प्रहरीले उनको घरकोठामा छापा मार्दा लुकाइराखेको अवस्थामा एक थान रिभल्वर पेस्तोल र थप पाँच राउण्ड गोली बरामद गरेको प्रदेश प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गोली, छर्रा र बारुदसमेत बरामद

प्रहरीले अवैध हतियारसँगै त्यसमा प्रयोग हुने गोली, छर्रा, बारुद तथा क्यापसमेत बरामद गरेको छ।

नवलपरासीबाट तीन राउण्ड गोली तथा रुपन्देहीबाट रिभल्वरका छ थान गोली र ५.५६ एमएफएस २३ उल्लेख भएको एक राउण्ड लाइभ गोली बरामद भएको प्रहरीले जनाएको छ।

दाङबाट चार थान छर्रा, गुल्मीबाट करिब १ सय ५० ग्राम बारुद, १२ थान छर्रा र १२ थान क्याप तथा अर्घाखाँचीबाट २९ थान फलामका छर्रा र करिब २ सय ग्राम बारुद बरामद भएको छ।

प्रदेश प्रहरीको समग्र तथ्यांकअनुसार साउन महिनामा चार राउण्ड गोली, ४५ थान छर्रा, ३ सय ५० ग्राम बारुद र १२ थान क्याप बरामद भएका छन्। बरामद हतियार तथा गोलीगठ्ठासम्बन्धी पाँचवटा घटनामा मुद्दा दायर भइसकेको प्रहरीले जनाएको छ।

वन क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएका भरुवा बन्दुकदेखि बजारमा नक्कली हतियार देखाएर रकम असुल्ने प्रयाससम्मका घटनाले लुम्बिनी प्रदेशमा अवैध हतियार नियन्त्रण अझै चुनौतीपूर्ण रहेको देखाएको छ। साभार नयाँ युगबोध

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १८:१८
प्रतिक्रिया दिनुहोस्