सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
सल्यान, २७ भदौ - सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
शनिबार बिहान करिब ८ बजे सिंखबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनामा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र १८ वर्षीया विपना बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बोलेरो चालक त्रिवेणी गाउँपालिका–५ सिम्कका २४ वर्षीय भुपाल पुन गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।
यस्तै सोही स्थानका २९ वर्षीय पारस बोहरा र ५० वर्षीय डिल्लीबहादुर वली घाइते भएका छन्। दुवैको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी त्रिवेणी गाउँपालिका–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी पनि दुर्घटनामा घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।
घाइते चारै जनालाई त्रिवेणी हेल्थ केयर लुहाममा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।