दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

आज फूलपाती भित्र्याइँदै, नवदुर्गाको सातौँ स्वरूप कालरात्रिको पूजा गरिँदै

शनिबार, असोज ३१, २०८३

काठमाडौँ,३१असाेज  नेपाली हिन्दूहरूको महान् पर्व बडादसैँअन्तर्गत आज फूलपाती भित्र्याएर नवदुर्गाको पूजा–आराधना गरिँदैछ। दसैँको सातौँ दिन मनाइने फूलपातीलाई शक्ति, समृद्धि, सुख र मङ्गलको प्रतीकका रूपमा लिने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको छ।

फूलपातीका अवसरमा घरघरमा विभिन्न वनस्पति तथा पवित्र पत्रिकाहरू भित्र्याएर दुर्गा भवानीको पूजा गर्ने चलन छ। धार्मिक मान्यताअनुसार केरा, बेसार, हलेदो, जयन्ती, बेल, अनार, अशोक, माने–कर्कलो र धानलाई नवपत्रिकाका रूपमा पूज्ने गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तोकेको शुभ साइतमा फूलपाती भित्र्याउने परम्परा रहेको छ।

परम्पराअनुसार गोरखाबाट ल्याइएको फूलपातीलाई काठमाडौँको हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याउने गरिन्छ। यस अवसरमा नेपाली सेना, सांस्कृतिक समूह तथा सर्वसाधारणको सहभागितामा विशेष समारोह आयोजना हुने परम्परा छ।

यसैबीच, नवरात्रको सातौँ दिन आज नवदुर्गाको सातौँ स्वरूप देवी कालरात्रिको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। धार्मिक ग्रन्थहरूमा कालरात्रिलाई दुष्ट शक्तिको विनाश गर्ने तथा भक्तलाई शुभ फल प्रदान गर्ने देवीका रूपमा वर्णन गरिएको छ। कालो वर्ण, तीन आँखा र चार हात भएकी देवी कालरात्रिको स्वरूप उग्र भए पनि उनलाई भक्तजनको रक्षा गर्ने देवीका रूपमा पूजा गरिन्छ।

यस दिन देवीलाई सख्खर चढाउने, दीप प्रज्वलन गर्ने तथा फलफूल र नैवेद्य अर्पण गर्ने धार्मिक प्रचलन छ। साथै, शक्ति, साहस, धैर्य र आत्मविश्वास प्राप्त हुने विश्वासका साथ भक्तजनले कालरात्रिको मन्त्र तथा स्तुति पाठ गर्छन्। कतिपय परम्परामा यस दिन विद्या र सङ्गीतकी देवी सरस्वतीको समेत पूजा गरिन्छ।

फूलपाती र कालरात्रिको पूजाले दसैँको धार्मिक महत्त्वलाई थप उजागर गर्नुका साथै नेपाली समाजमा प्रकृतिप्रतिको सम्मान, पारिवारिक एकता र सांस्कृतिक निरन्तरतालाई प्रतिबिम्बित गर्छ।

प्रकाशित मिति: शनिबार, असोज ३१, २०८३  ०७:३३
प्रतिक्रिया दिनुहोस्