हरितालिका तीज आज मनाइँदै, पशुपतिनाथसहित शिवालयमा भक्तजनको घुइँचो

सोमबार, भदौ २९, २०८३

काठमाडौँ, २९ भदौ - आज हरितालिका तीज पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । भदौ शुक्ल तृतीयाका दिन महिलाले व्रत बसेर भगवान् शिवको पूजा तथा उपासना गर्ने परम्परा छ । धार्मिक विश्वासअनुसार तीजको व्रत र शिवको आराधना गरेमा पारिवारिक सुख, शान्ति तथा कल्याण प्राप्त हुने विश्वास गरिन्छ ।

हिजो दर खाएसँगै औपचारिक रूपमा सुरु भएको यस वर्षको तीज पर्व भोलि ऋषि पञ्चमी मनाएसँगै समापन हुनेछ । तीजको अवसरमा आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका विभिन्न शिवालयमा दर्शन तथा पूजाआजाका लागि भक्तजनको घुइँचो लागेको छ ।

तीजका अवसरमा महिलालाई सार्वजनिक बिदा दिइएको छ । विगतका वर्षमा जस्तो यसपटक तीजको उत्साह र उल्लास भने देखिएको छैन । हालैको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ । विपद्का कारण धेरै परिवार शोक र समस्यामा रहेकाले यस वर्ष तीज सादगीपूर्ण रूपमा मनाइएको छ ।

तीजको व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्थालाई विशेष ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन् । स्वास्थ्यले साथ दिएमा मात्र निराहार व्रत बस्न र नसक्ने अवस्थामा प्रशस्त पानी, फलफूल तथा जुस सेवन गर्न चिकित्सकको सुझाव छ ।

निराहार व्रत बस्दा शरीरमा पानी तथा ग्लुकोजको मात्रा कम भई कमजोरी, चक्कर लाग्ने तथा बेहोस हुनेजस्ता समस्या आउन सक्ने चिकित्सकहरूले बताएका छन् ।

धर्मशास्त्रीय मान्यताअनुसार पनि स्वास्थ्य र क्षमताअनुसार निराहार, जलाहार वा फलाहार व्रत बस्न सकिन्छ । स्वास्थ्य अवस्था कमजोर भएका वा निराहार व्रत बस्न नसक्नेले गहुँ वा मकैको रोटी तथा स्याउ, सुन्तला, केराजस्ता फलफूल सेवन गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता छ ।

स्वास्थ्यलाई जोखिममा राखेर व्रत बस्नुभन्दा आफ्नो शारीरिक अवस्था र चिकित्सकको सुझावअनुसार व्रत बस्नु उपयुक्त हुने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  ०६:४०
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी