सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ, २९ भदौ - देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।
सोमबार बिहान बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा भएको छ भने कोशी र कर्णाली प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भएको महाशाखाले जनाएको छ ।
पछिल्लो ६ घण्टामा तनहुँको श्यामघा मौसम मापन केन्द्रमा ६५.६ मिलिमिटर तथा लमजुङको फालेनी मौसम मापन केन्द्रमा ५०.४ मिलिमिटर वर्षा मापन गरिएको छ ।
दिउँसो अधिकांश क्षेत्रमा वर्षाको सम्भावना
सोमबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
देशका पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ ।
कोशी र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भने दिउँसो भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पनि वर्षाको सम्भावना
सोमबार राति पनि देशभर साधारणतया बदली रहनेछ । हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
पहाडी तथा तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा रातिको समयमा समेत भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।