रुन्टिगढीमा मानसिक स्वास्थ्य अवस्थाबारे आधारभूत मूल्याङ्कनका निष्कर्ष सार्वजनिक

बुधबार, भदौ ३१, २०८३

रोल्पा,३१ भदाै - रुन्टिगढी गाउँपालिकामा मानसिक स्वास्थ्य अवस्थाबारे गरिएको आधारभूत मूल्याङ्कनका निष्कर्ष सार्वजनिक गरिएको छ। गाउँपालिकाको सभाहलमा १५ सेप्टेम्बर २०२६ मा आयोजित निष्कर्ष साझेदारी बैठकमा रुन्टिगढीको मानसिक स्वास्थ्य अवस्था, विद्यमान सेवा, चुनौती तथा आगामी प्राथमिकताबारे छलफल गरिएको हो।

बैठकको अध्यक्षता रुन्टिगढी गाउँपालिका प्रशासन प्रमुख सानुबाबु खड्काले गर्नुभएको थियो भने कपिलवस्तु एकीकृत विकास सेवा (किड्स) का वरिष्ठ कार्यक्रम प्रबन्धक बाबुराम सुवेदीले मानसिक स्वास्थ्य अवस्थाको आधारभूत मूल्याङ्कनसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो।

ddd-1789523422.jpeg
 

प्रस्तुतीकरणमा रुन्टिगढी गाउँपालिकामा मानसिक स्वास्थ्य सेवाको वर्तमान अवस्था, स्वास्थ्यकर्मी, विद्यालय शिक्षक तथा समुदायबाट प्राप्त जानकारी, मानसिक स्वास्थ्य सेवामा देखिएका समस्या तथा सुधारका लागि आवश्यक कदमहरू समेटिएका थिए।

मूल्याङ्कनका क्रममा स्वास्थ्यकर्मी, विद्यालय शिक्षक समुदायका प्रतिनिधिसँग समूहगत छलफल गरिएको थियो। स्वास्थ्यकर्मी समूहसँग १४ जुलाई २०२६, विद्यालय शिक्षक समूहसँग १५ जुलाई २०२६ र समुदाय समूहसँग १६ जुलाई २०२६ मा छलफल गरिएको प्रस्तुतीकरणमा उल्लेख छ। विद्यालय शिक्षक समूहमा १९ जना र समुदाय समूहमा २४ जना सहभागी थिए।

रुन्टिगढी गाउँपालिकामा १२ वटा स्वास्थ्य संस्था रहेका छन्। तीमध्ये विशेषज्ञ मानसिक स्वास्थ्य सेवा उपलब्ध भएका संस्था नरहेको र मानसिक स्वास्थ्य सेवा सम्बन्धी तालिम प्राप्त कर्मचारीको संख्या ४ जना रहेको उल्लेख गरिएको छ। त्यस्तै, मनोसामाजिक परामर्शदाताको संख्या एक जना रहेको जनाइएको छ।

गाउँपालिकामा मनोचिकित्सक, मनोवैज्ञानिक वा मानसिक स्वास्थ्य सामाजिक कार्यकर्ता आधारित नरहेको, नियमित क्लिनिकल सुपरिवेक्षण तथा विशेषज्ञ सहयोग प्रणाली नभएको र मनोचिकित्सकीय औषधिको आपूर्ति नियमित नभएको मूल्याङ्कनमा उल्लेख गरिएको छ।

स्वास्थ्यकर्मीबाट प्राप्त निष्कर्षमा चिन्ता, डिप्रेसन र तनावसम्बन्धी समस्या देखिने गरेको उल्लेख गरिएको छ। मानसिक स्वास्थ्य सेवामा पहुँचका क्रममा सामाजिक कलंक, खर्च, यातायात तथा गोपनीयतासम्बन्धी चिन्ता प्रमुख बाधाका रूपमा देखिएको प्रस्तुतीकरणमा जनाइएको छ। रेफरल तथा समन्वयसमेत मौखिक र अनौपचारिक रहेको तथा व्यवस्थित रेफरल स्लिप, फलोअप र ब्याक–रेफरल प्रणाली नभएको उल्लेख छ।

विद्यालयतर्फ गरिएको छलफलमा विद्यार्थीमा ध्यान केन्द्रित गर्न कठिनाइ, अनुपस्थिति, चिन्ता, डिप्रेसन तथा आत्महत्याको प्रयासजस्ता समस्या देखिएको उल्लेख गरिएको छ। शिक्षकहरूले व्यवहारमा आएको परिवर्तन पहिचान गर्न सक्ने भए पनि परामर्शसम्बन्धी पर्याप्त तालिम नभएको तथा विद्यालयमा परामर्शदाता वा गोप्य सहयोग कक्षको व्यवस्था नरहेको मूल्याङ्कनमा उल्लेख छ।

विद्यालयमा देखिएका समस्याका कारणका रूपमा बुलिङ, जातीय विभेद, शैक्षिक दबाब, अत्यधिक डिजिटल तथा मोबाइल प्रयोग, बालविवाह र पारिवारिक विवादलाई उल्लेख गरिएको छ।

समुदायस्तरमा गरिएको छलफलमा टाउको दुख्ने, निद्रा नलाग्ने, डर, असुरक्षा र बेहोस हुनेजस्ता समस्या उल्लेख गरिएको थियो। मानसिक स्वास्थ्यसम्बन्धी सामाजिक कलंकका कारण समस्या भएका व्यक्तिले आफूलाई ‘पागल’ भनिने डर रहने तथा रोग सर्ने वा वंशानुगत हुनेजस्ता धारणा पनि समुदायमा रहेको प्रस्तुतीकरणमा उल्लेख छ।

समुदायमा परिवारका सदस्य, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, धार्मिक अगुवा तथा परम्परागत उपचारकर्मी अनौपचारिक रेफरलका महत्वपूर्ण सम्पर्क बिन्दुका रूपमा रहेको बताइएको छ। धामी–झाँक्री तथा प्रार्थना/झारफुकजस्ता परम्परागत अभ्यासप्रति समुदायको विश्वास रहेको पनि मूल्याङ्कनमा उल्लेख गरिएको छ।

प्रस्तुतीकरणमा रुन्टिगढीमा मानसिक स्वास्थ्य सेवाको पहुँच बढाउन स्वास्थ्य संस्थामा सेवा तथा जनशक्तिको क्षमता विस्तार, मानसिक स्वास्थ्यसम्बन्धी औषधिको नियमित आपूर्ति, रेफरल तथा फलोअप प्रणालीको विकास र नियमित सुपरिवेक्षण आवश्यक रहेको उल्लेख गरिएको छ।

त्यस्तै, विद्यालयका शिक्षकलाई आधारभूत परामर्श तथा प्रारम्भिक पहिचानसम्बन्धी तालिम दिने, गोप्य परामर्श कक्ष वा फोकल व्यक्ति व्यवस्था गर्ने तथा बाल संरक्षण र परामर्श सेवासँग रेफरल सम्बन्ध विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।

समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, सामाजिक कलंक न्यूनीकरण गर्ने तथा समुदायमा विश्वासिला धार्मिक अगुवा र परम्परागत उपचारकर्मीलाई प्रारम्भिक पहिचान तथा रेफरलका साझेदारका रूपमा जोड्ने आवश्यकता पनि औंल्याइएको छ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्षता गर्नुभएका रुन्टिगढी गाउँपालिका प्रशासन प्रमुख सानुबाबु खड्काले मानसिक समस्या कुनै पनि व्यक्तिको बानी–व्यवहारबाट समेत थाहा पाउन सकिने बताउनुभएको थियो। उहाँले मानसिक स्वास्थ्यसम्बन्धी समस्यालाई समयमै पहिचान गरी आवश्यक सहयोग तथा सेवासँग जोड्नुपर्ने विषयमा जोड दिनुभएको थियो।

WhatsApp-Image-2026-09-15-at-1.30.53-PM-1789523589.jpeg
 

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख बुद्धिजीवी सेजुवालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। प्रस्तुतीकरण गर्दै किड्सका वरिष्ठ कार्यक्रम प्रबन्धक बाबुराम सुवेदीले रुन्टिगढी गाउँपालिकाको मानसिक स्वास्थ्य अवस्थाको मूल्याङ्कनबाट प्राप्त तथ्य तथा निष्कर्षहरू प्रस्तुत गर्नुभएको थियो।

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम नेपालअन्तर्गत गरिएको मूल्याङ्कनमा सार्वजनिक स्वास्थ्य प्रणालीमा गुणस्तरीय मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सेवा संस्थागत गर्ने तथा समुदायमा त्यस्ता सेवाको पहुँच विस्तार गर्ने लक्ष्यलाई समेत प्राथमिकतामा राखिएको छ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  ०७:४१
प्रतिक्रिया दिनुहोस्