सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
रोल्पा । रुन्टिगढी गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको पालिकास्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको समीक्षामा गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरूको सेवा प्रवाह, स्वास्थ्य सूचक, कार्यक्रमको उपलब्धि, देखिएका समस्या तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा गहन छलफल गरिएको थियो।
कार्यक्रम रुन्टिगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीप्रसाद खड्काको अध्यक्षता तथा जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत एवं कार्यालय प्रमुख डिल्लीबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिजीवी सेजुवालसहित स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा आबद्ध कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत तथा कार्यालय प्रमुख डिल्लीबहादुर केसीले पुराना र नयाँ स्वास्थ्य संस्थाबीच सेवा प्रवाह तथा स्वास्थ्य सूचकमा देखिएको अन्तरलाई क्रमशः घटाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।उहाँले पुराना स्वास्थ्य संस्थामा लामो समयदेखि काम गर्दै आएको अनुभव, सेवा प्रणाली र समुदायसँगको सम्बन्धका कारण स्वास्थ्य सूचक तुलनात्मक रूपमा राम्रो देखिने गरेको उल्लेख गर्दै नयाँ स्थापना भएका आधारभूत स्वास्थ्य केन्द्रहरूलाई जनशक्ति, अनुभव तथा स्रोत व्यवस्थापनका दृष्टिले थप चुनौती रहेको बताउनुभयो। नयाँ स्वास्थ्य संस्थाले पनि आफ्नो क्षमता प्रदर्शन गर्दै पुराना संस्थासँग प्रतिस्पर्धा गर्ने गरी सेवा प्रवाह सुधार गर्नुपर्ने उहाँको भनाइ थियो। “हामी एकअर्काका प्रतिस्पर्धी होइनौँ, तर सबै स्वास्थ्य संस्थाले राम्रो सेवा दिनुपर्ने नैतिक र सामाजिक जिम्मेवारी छ,” उहाँले बताउनुभयो।केसीले स्वास्थ्यका सबै सूचक तत्काल सुधार गर्न सकिने अवस्था नरहेको भन्दै केही सूचकमा छोटो समयमै उल्लेख्य सुधार गर्न सकिने र केही सूचकमा समुदायको सहभागिता तथा व्यवहार परिवर्तनका कारण लामो समय लाग्ने बताउनुभयो। गर्भवती जाँच तथा संस्थागत प्रसूति जस्ता सेवामा नागरिकको विश्वास र नियमित सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो। स्वास्थ्य सूचक सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, जनप्रतिनिधि तथा समुदायमा उपलब्ध सबै संयन्त्रलाई परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो।
त्यस्तै, रुन्टिगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धिजीवी सेजुवालले दुई दिनको समीक्षाका क्रममा स्वास्थ्यका विभिन्न सूचकबारे विस्तृत छलफल भएको बताउनुभयो। उहाँले समग्र स्वास्थ्य क्षेत्रमा सुधारका प्रयास भइरहे पनि खोप कार्यक्रमतर्फ गाउँपालिका अझै पछाडि रहेको र यसलाई प्राथमिकताका साथ सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।सेजुवालका अनुसार पोषण, परिवार नियोजन, क्षयरोग कार्यक्रम, सुरक्षित मातृत्व तथा अन्य स्वास्थ्य सेवाका सूचकमा पनि केही स्वास्थ्य संस्थाबीच फरक अवस्था देखिएको छ। क्षयरोगमा बिरामी पहिचान मात्रै पर्याप्त नभई नियमित उपचार र कार्यक्रमको प्रभावकारितालाई पनि प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो।उहाँले बालविवाह न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि अपेक्षित परिणाम हासिल हुन नसकेको बताउँदै २० वर्षभन्दा कम उमेरमा हुने प्रसूतिको संख्या घटाउन थप प्रभावकारी अभियान आवश्यक रहेको उल्लेख गर्नुभयो। स्वास्थ्य शाखा प्रमुख सेजुवालले स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधिको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। वार्षिक समीक्षा तथा स्वास्थ्य क्षेत्रका महत्वपूर्ण छलफलमा जनप्रतिनिधिहरूको उपस्थितिले योजना निर्माण र कार्यान्वयनमा थप सहयोग पुग्ने उहाँको भनाइ थियो।उहाँले स्वास्थ्यकर्मीको क्षमता विकासका लागि आवश्यकताका आधारमा तालिम सञ्चालन भइरहेको जानकारी दिँदै सीमित अवसरका कारण सबै स्वास्थ्यकर्मीलाई एउटै समयमा तालिममा सहभागी गराउन कठिनाइ हुने भएकाले आवश्यकताका आधारमा तालिमको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो।
कार्यक्रमका अध्यक्ष तथा रुन्टिगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीप्रसाद खड्काले दुई दिनको समीक्षा कार्यक्रमले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरेका कार्यक्रम, बजेटको व्यवस्थापन र प्राप्त उपलब्धिबारे समीक्षा गर्ने अवसर दिएको बताउनुभयो। उहाँले आगामी दिनमा कार्यक्रम सञ्चालन भयो कि भएन, बजेट खर्च भयो कि भएन र कति अंक प्राप्त भयो भन्ने कुरामा मात्रै सीमित नभई त्यसले समग्र सामुदायिक तथा जनस्वास्थ्यमा कस्तो प्रभाव पार्यो र नागरिकको स्वास्थ्य अवस्थामा कति सुधार ल्यायो भन्ने विषयलाई प्राथमिकतामा राखेर समीक्षा गर्नुपर्ने बताउनुभयो। खड्काले गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा न्यूनतम सेवा मापदण्ड तथा सेवाको गुणस्तरमा सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो। केही स्वास्थ्य संस्थाले अपेक्षित अंक हासिल गर्न नसकेको भन्दै आगामी दिनमा कमजोरी पहिचान गरी सुधारका लागि विशेष पहल गर्न उहाँले स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत खड्काले स्वास्थ्य संस्थाभित्र हुने आपसी मतभेद, गुटबन्दी तथा असहयोगको अवस्था अन्त्य गरी स्वास्थ्यकर्मीहरूबीच समन्वय, सहकार्य र सामूहिक भावनाका साथ सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो। “समीक्षा भनेको कमजोरी खोजेर मात्र बस्ने होइन, कमजोरी पहिचान गरी त्यसलाई सुधार गर्ने योजना बनाउने अवसर पनि हो,” भन्ने भावमा उहाँले स्वास्थ्य संस्थामा देखिएका समस्यालाई आपसी समन्वयबाट समाधान गर्दै नागरिकलाई नियमित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरूको योगदानको प्रशंसा गर्दै खड्काले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्र सुधारका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।वार्षिक समीक्षा गोष्ठीले रुन्टिगढी गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा देखिएका उपलब्धि, कमजोरी र चुनौती पहिचान गर्दै आगामी दिनमा खोप, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजन, क्षयरोग, बालविवाह न्यूनीकरण, किशोरावस्थामा हुने प्रसूति तथा न्यूनतम सेवा मापदण्डको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने सुझाव दिनु भयो।
कार्यक्रमले स्वास्थ्य संस्थाहरूबीच स्वस्थ प्रतिस्पर्धा, आपसी समन्वय र समुदायसँगको सम्बन्ध अझ बलियो बनाउँदै नागरिकलाई प्रभावकारी तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।