सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
मसुरिया,१६ जेठ - दाङको राप्ती गाउँपालिकाका विभिन्न तीन स्थानमा एक्सरे सहितको क्षयरोग स्क्रिनिङ शिविर सम्पन्न भएको छ।
पालिकाको वडा नम्बर ३ मसुरिया सामुदायिक स्वास्थ्य इकाई, वडा नम्बर ६ को पत्थरगढवा सामुदायिक स्वास्थ्य इकाई र वडा नम्बर ८ को पिपरीमा शिविर सञ्चालन गरिएको हाे। शिविरमा ६ सय २६ जनाको स्वास्थ्य जाँच गरिएको थियो।
परीक्षण गरिएकामध्ये १७ जनामा क्षयरोग पुष्टि भएको छ भने १ सय ४९ जनामा क्षयरोगको उच्च सम्भावना देखिएकाले थप जिन एक्सपर्ट परीक्षणका लागि लमही अस्पतालमा रिफर गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनुभयो।
शिविरमा बर्दिया अस्पतालका डा. राजेन्द्र बसौला, भीम अस्पताल भैरहवाका एक्सरे टेक्निसियन राजेश राय, क्षयरोग मुक्त अभियान नेपालका राप्ती गाउँपालिका संयोजक प्रतिमा विष्ट, नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाका सभापति उत्तम कुमार अधिकारी लगायत स्वास्थ्य इकाई प्रमुख तथा अन्य स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागिता रहेको थियो।
डा. बसौलाका अनुसार, शिविरमा परीक्षण गराउन आएका धेरै व्यक्तिहरूमा फोक्सो सम्बन्धी समस्या देखिएको थियो। परीक्षणका लागि एआई प्रविधियुक्त डिजिटल एक्सरे मेसिनको प्रयोग गरिएको थियो।
राप्ती गाउँपालिकाको आयोजना र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालय दाङको प्राविधिक सहयोगमा "क्षयरोग मुक्त नेपाल" अभियान अन्तर्गत उक्त शिविर सञ्चालन गरिएको संयोजक विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार, स्वास्थ्य सेवाको पहुँचबाट बाहिर रहेका, क्षयरोगको उच्च जोखिममा रहेका तथा संभावित बिरामीहरूको पहिचान, परीक्षण र प्रारम्भिक उपचारका लागि शिविर सञ्चालन गरिएको हो।
शिविर जेठ १४ गतेदेखि १६ गतेसम्म सञ्चालन गरिएको थियो।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले क्षयरोग नियन्त्रणका लागि समुदायमै पुगेर गरिएको स्क्रिनिङ प्रभावकारी भएको बताउँदै, शिविरमा सहभागी सम्पूर्ण स्वास्थ्यकर्मी, संस्था र स्वयंसेवीकाहरूलाई धन्यवाद दिनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई थप प्रभावकारी रूपमा विस्तार गरिने बताउनुभयो।