लुम्बिनी प्रदेशसहित दाङमा असोज ९–११ सम्म भारी वर्षाको सम्भावना,बंगलाचुलीले जारी गर्‍यो सतर्कता सूचना

बुधबार, असोज ७, २०८३

दाङ,६असाेज - आगामी असोज ९ देखि ११ गतेसम्म लुम्बिनी प्रदेशसहित दाङका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षा हुनसक्ने पूर्वानुमानपछि बंगलाचुली गाउँपालिकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल मौसम विज्ञान विभाग तथा जिल्ला प्रशासन कार्यालय दाङको सूचनालाई आधार बनाउँदै गाउँपालिकाले सम्भावित बाढी, पहिरो, डुबान तथा सडक अवरोधबाट जोगिन पूर्वतयारी गर्न सर्वसाधारणलाई अपिल गरेको हो।

गाउँपालिकाले जारी गरेको ‘सतर्कताका लागि अनुरोध’मा रातिको समयमा सकेसम्म सडक यात्रा नगर्न आग्रह गरिएको छ। यात्रा गर्नैपर्ने अवस्था भए सडकको अवस्था, स्थानीय प्रशासन तथा यातायातसम्बन्धी सूचना लिएर मात्र आवागमन गर्न भनिएको छ।

सडकमा पहिरो, ढुंगा खस्ने, सडक भासिने वा पानीको बहाव बढेको अवस्थामा जोखिम मोलेर बाटो पार नगर्न र सुरक्षित स्थानमा रोकिन गाउँपालिकाले अनुरोध गरेको छ।

सम्भावित आकस्मिक बाढीलाई ध्यानमा राख्दै खोला, खहरे तथा नदी किनार र पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन भनिएको छ। खोलाको पानीको सतह तीव्र रूपमा बढेमा, पानी धमिलो भएमा, ढुंगा वा रुख बगाउँदै आएको देखिएमा अथवा असामान्य आवाज सुनिएमा तत्काल सुरक्षित स्थानतर्फ जान गाउँपालिकाले आग्रह गरेको छ।

त्यस्तै, पशुचौपाया, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजात तथा आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न र आधिकारिक मौसम पूर्वानुमान तथा विपद्सम्बन्धी सूचना नियमित रूपमा लिन आग्रह गरिएको छ।

मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अतिभारी वर्षा हुनसक्ने जनाएको छ।

गाउँपालिकाले विपद्को अवस्था सिर्जना भए स्थानीय विपद् व्यवस्थापन संयन्त्र, सुरक्षा निकाय तथा तोकिएका सम्पर्क व्यक्तिसँग समन्वय गरी उद्धार तथा सहयोगमा जुट्नसमेत सर्वसाधारणलाई आग्रह गरेको छ।3949c839-8c40-47fd-a4ab-849c0590fe96-1790166611.jpg

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  १८:१३
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी