सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,७असाेज - दाङको दंगीशरण गाउँपालिकाले आगामी तीन दिन भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले गाउँपालिकावासीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
जिल्ला प्रशासन कार्यालय, दाङबाट जारी विपद् व्यवस्थापनसम्बन्धी सूचनालाई आधार बनाउँदै गाउँपालिकाले विभिन्न क्षेत्रमा बाढी, पहिरो, नदी–खोलामा डुबान तथा कटानको जोखिम हुनसक्ने जनाएको हो।
गाउँपालिकाले विशेषगरी नदी, खोला तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रमा आवतजावत गर्दा विशेष सतर्कता अपनाउन तथा नदी, खोला र खोल्सानजिक अनावश्यक रूपमा नजान आग्रह गरिएको छ।
त्यस्तै, बाढी तथा पहिरोको जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा महिलाको सुरक्षामा विशेष ध्यान दिन गाउँपालिकाले अनुरोध गरेको छ।
सम्भावित विपद्को अवस्थामा तत्काल उद्धार तथा राहतका लागि घर, कार्यालय तथा संस्थामा रहेका डोजर, एक्साभेटर, लोडरलगायतका साधनहरू तयारी अवस्थामा राख्नसमेत आग्रह गरिएको छ।
स्थानीय स्तरमा विपद्को अवस्था सिर्जना भएमा तत्काल सम्बन्धित वडा कार्यालय, सुरक्षा निकाय वा गाउँपालिकालाई जानकारी गराउन र सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट प्राप्त आधिकारिक सूचनामात्र विश्वास गरी पालना गर्न गाउँपालिकाले अनुरोध गरेको छ।
“सावधानी नै विपद्बाट बच्ने पहिलो उपाय हो” भन्दै गाउँपालिकाले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि नागरिक, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला सबैलाई सतर्क र तयारी अवस्थामा रहन अपिल गरेको छ।