व्यवसायीको हकहित, सम्मान र समृद्धिका लागि केसीको उम्मेदवारी

शुक्रबार, असोज ९, २०८३

दाङ,९ असाेज - दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा वाणिज्य उपाध्यक्ष पदकी उम्मेदवार मानु केसीले व्यवसायीहरूको हकहित, सम्मान र व्यवसाय प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आफूले उम्मेदवारी दिएको बताउनुभएको छ।

व्यवसायीका समस्या, आवश्यकता र अपेक्षालाई नजिकबाट बुझेर संघमार्फत प्रभावकारी रूपमा आवाज उठाउने उद्देश्यसहित आफू निर्वाचनमा होमिएको केसीको भनाइ छ। उहाँले व्यवसायीको हितमा काम गर्ने, उनीहरूका समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍याउने र समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

‘हकहित र सम्मानका लागि अघि बढेको मेरो उम्मेदवारी हो। व्यवसायीको आवाज बन्ने र सेवा गर्ने मेरो जिम्मेवारी हो,’ केसीले भन्नुभएको छ।

संघ व्यवसायीहरूको साझा संस्था भएकाले सबै व्यवसायीलाई समान रूपमा समेट्दै अघि बढ्नुपर्ने उहाँको धारणा छ। व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या, बजार व्यवस्थापन, व्यवसायीका अधिकार तथा राज्यका विभिन्न नीति–नियमका कारण व्यवसायीले भोग्नुपरेका कठिनाइलाई प्राथमिकताका साथ उठान गर्ने उहाँले बताउनुभएको छ।

केसीले संघमा एकता, पारदर्शिता र प्रगतिलाई मुख्य आधार बनाएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। व्यवसायीबीच सहकार्य र आपसी सद्भाव कायम गर्दै संघलाई थप प्रभावकारी र व्यवसायीमैत्री संस्थाका रूपमा अघि बढाउन आफ्नो भूमिका रहने उहाँको भनाइ छ।
‘एकता, पारदर्शिता र प्रगतिसँगै सबैको हितमा काम गर्ने प्रण छ,’ केसीले भन्नुभएको छ।

आगामी निर्वाचनलाई आफू कुनै व्यक्तिगत स्वार्थका लागि नभई व्यवसायीको साझा हित र सम्मानका लागि अघि बढेको अवसरका रूपमा लिएको उहाँको भनाइ छ। व्यवसायीहरूको विश्वास, सुझाव र साथलाई आफ्नो उम्मेदवारीको मुख्य शक्ति मानेर अघि बढ्ने केसीले बताउनुभएको छ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन असोज ११ गते हुँदैछ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  ११:१६
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी