सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,१३ असोज- नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले भौतिक महसुल काउन्टर पूर्ण रूपमा बन्द गर्ने भएको छ । आगामी मंसिर १ गतेदेखि भौतिक काउन्टरहरू बन्द गरी अनलाइनमार्फत मात्र विद्युत महसुल भुक्तानी गरिने प्रमुख सुरेश कुमार महतोले बताउनुभयो ।
उहाँका अनुसार नेपाल सरकारको डिजिटल नेपालको अवधारणा तथा नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष २०८३/८४ को नीति र निर्देशन अनुसार ग्राहक सेवालाई थप प्रभावकारी बनाई २४ घण्टा अनलाइन भुक्तानी व्यवस्था मिलाइनेछ ।
हाल पनि अनलाईन भुक्तानी गर्नेको संख्या उल्लेख्य रहेको भन्दै भुक्तानी प्रक्रियालाई पूर्ण अनलाईन बनाउन लागिएको हो । उहाँका अनुसार हाल ४२ प्रतिशत ग्राहकहरूले अनलाइनमार्फत भुक्तानी गर्न थालेका छन् ।
भौतिक रूपमा उपस्थित भएर महसुल बुझाउँदा रकमभन्दा बढी समय र आवतजावतमा खर्च हुने भएकाले प्रविधियुक्त प्रणालीलाई अनिवार्य गरिएको प्रमुम महतोको भनाई छ । उहाँका अनुसार सय रुपैयाँको महसुल बुझाउन गाउँबाट कार्यालय आउँदा ग्राहकको चारदेखि पाँच सय रुपैयाँसम्म खर्च हुने र दिनभरिको समय खेर जाने अवस्था रहेको भन्दै घरमै बसेर एक/दुई मिनेटमै भुक्तानी सम्पन्न गर्न सकिनेछ । पाँच सय रुपैयाँसम्मको महसुल अनलाइन भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने र सोभन्दा बढी रकमको भुक्तानीमा पनि न्यूनतम शुल्क मात्र लाग्ने उहाँले बताउनुभयो ।
विद्युत प्राधिकरणको एप गरी अथवा ईसेवा, खल्ती, एनसीएचएल तथा मोबाइल बैंकिङ एपमध्ये कुनै एक एपबाट विद्युतको महशुल तिर्न सकिन्छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न प्राधिकरणले विद्यालयहरूमा विद्युतीय सुरक्षा तथा अनलाइन पेमेन्ट सम्बन्धी सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुका साथै कार्यालयमा आउने ग्राहकहरूलाई पम्प्लेट वितरण गरिरहेको समेत प्रमुख महतोले बताउनुभयो । तुलसीपुर वितरण केन्द्रअन्तर्गत हाल करिब ५५ हजार ग्राहकहरू रहेका छन् ।