सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
लमही, १५ असोज - दाङको देउखुरीमा स्थापना गरिएका बायोचार प्लान्ट सञ्चालन तथा प्राविधिक क्षमता विकाससम्बन्धी तीनदिने कार्यक्रम बिहीबारदेखि लमहीमा सुरु भएको छ।
यूएनडीपी नेपालको सहयोगमा लमही नगरपालिका र राप्ती गाउँपालिकाको आयोजनामा तथा हाइड्रो इन्डिया इन्जिनियरिङको प्राविधिक सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले खेर गइरहेका जैविक पदार्थलाई उपयोग गरी बायोचार उत्पादन गर्न सकिने बताउनुभयो। उहाँले बायोचारले वातावरण संरक्षणसँगै कृषि उत्पादनमा समेत योगदान पुर्याउने उल्लेख गर्नुभयो।
राप्ती गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीले जैविक पदार्थको व्यवस्थापन र उत्पादनमूलक उपयोगका लागि बायोचार प्रविधि महत्वपूर्ण रहेको बताउनुभयो। प्लान्टलाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय समुदाय, सामुदायिक वन र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा बायोचार प्लान्टमा जडान गरिएका उपकरणको सञ्चालन तथा प्रयोग विधि, बायोचार प्रविधि, यसको उपयोगिता र प्लान्ट व्यवस्थापनका प्राविधिक पक्षबारे प्रशिक्षण दिइँदैछ। राप्ती गाउँपालिका–५ स्थित देउकी सामुदायिक वन र लमही नगरपालिका–७ स्थित कर्री सामुदायिक वनमा बायोचार प्लान्ट स्थापना गरी सञ्चालन गर्ने तयारी गरिएको छ। कार्यक्रममा दुवै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, वन डिभिजन कार्यालयका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारी, उद्योग वाणिज्य संघका प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता छ।