सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
भालुबाङ, १७ असोज - दाङको राप्ती गाउँपालिका–२, लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघको संयोजकमा बसन्त नेपाली चयन हुनुभएको छ।
विद्यालयमा शनिबार सम्पन्न अभिभावक भेलाले नेपालीको संयोजकत्वमा आठ सदस्यीय नयाँ शिक्षक अभिभावक संघ सर्वसम्मत रूपमा चयन गरेको हो।
नवगठित समितिका सदस्यहरूमा हरिप्रसाद श्रेष्ठ, सरिता सुनार, कृष्णलाल गिरी, ईश्वरी भण्डारी, जयप्रकाश घर्ती, कृष्णा पोख्रेल र दुलारानी चौधरी रहनुभएको छ।
राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पहलवान चौधरीको अध्यक्षतामा सम्पन्न भेलामा बोल्दै अध्यक्ष चाैधरीले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि शिक्षक,विद्यार्थी र अभिभावक बीच आपसी समन्वय, सहकार्य र एकता आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा सबै पक्षले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो।
नव गठित समितिका संयोजक नेपालीले समितिले अभिभावक र विद्यालयबीच सेतुको भूमिका निर्वाह गरी विद्यालयको शैक्षिक सुधारका लागि पूर्ण निष्ठाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भेलामा शिक्षक अभिभावक संघका पूर्वसंयोजक लीलामणि पोख्रेल, विद्यालय व्यवस्थापन समिति सदस्य हेमराज भण्डारी तथा अभिभावक रञ्जना सुनाम लगायतले मन्तव्य व्यक्त गर्नुभयो।
शिक्षक रामकृष्ण पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको भेलामा विद्यालयका प्रधानाध्यापक खेतुलाल पौडेलले भेलाको औचित्य तथा विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक विष्णुप्रसाद पोख्रेलले गर्नुभएको थियो।