सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
सल्यान, २२ असोज - सल्यानकाे कपुरकोट गाउँपालिकाको कार्यालयमा विभिन्न सरकारी निकायका प्रमुख, जनप्रतिनिधि, सरोकारवाला तथा पत्रकारहरूको सहभागितामा समन्वयात्मक बैठक सम्पन्न भएको छ।
बैठकमा सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा नेपाल विद्युत् प्राधिकरण सल्यानका कार्यालय प्रमुखलगायत विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
गाउँपालिकामा आयोजित बैठकमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा योजना तथा प्रशासन शाखा प्रमुखले अतिथिहरूलाई स्वागत गरेका थिए।
बैठकमा गाउँपालिकाभित्र सञ्चालन भइरहेका विकास निर्माणका काम, सडक पूर्वाधार, विद्युत् सेवा, शान्ति–सुरक्षा तथा स्थानीय तहसँग सम्बन्धित विभिन्न विषयमा सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहकार्यका विषयमा छलफल गरिएको थियो।
स्थानीय तहमा देखिएका समस्या समाधानका लागि सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए। साथै, विकास निर्माणका कामलाई प्रभावकारी र नागरिकमैत्री बनाउन सम्बन्धित सरोकारवाला निकायबीच निरन्तर सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो।
बैठकमा स्थानीय सरोकारवाला तथा पत्रकारहरूले समेत आफ्ना धारणा र सुझाव राखेका थिए। उनीहरूले स्थानीय विकास, सेवा प्रवाह तथा नागरिकका समस्यालाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउन यस्ता समन्वयात्मक बैठकलाई निरन्तरता दिनुपर्ने बताएका थिए।
बैठकले कपुरकोट गाउँपालिकाको विकास, सेवा प्रवाह र स्थानीय समस्या समाधानमा सम्बन्धित निकायबीच थप सहकार्य र समन्वयको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।