सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,२४ असाेज - स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको बंगलाचुली गाउँपालिकाद्वारा सञ्चालित आधारभूत अस्पतालको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले अस्पतालको समग्र व्यवस्थापन, सेवा प्रवाहको अवस्था र सेवाग्राहीले पाइरहेका सुविधाबारे जानकारी लिनुभएको हो।
अस्पतालको वस्तुस्थिति अवलोकनपछि मन्त्री मेहताले स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा आवश्यक पूर्वाधार व्यवस्थापनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सो अवसरमा गाउँपालिका अध्यक्ष तुलसीराम पुनमगरले अस्पताल सञ्चालनका क्रममा पालिकाले भोग्नुपरेका व्यावहारिक तथा प्राविधिक समस्याबारे मन्त्री मेहताको ध्यानाकर्षण गराउनुभयो। सीमित स्रोतसाधनका बाबजुद गाउँपालिकाले अस्पताल सञ्चालन तथा व्यवस्थापनमा निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले भौगोलिक विकटता र जनशक्ति अभावका कारण आवश्यक चिकित्सकको स्थायी व्यवस्थापन गर्न कठिनाइ भइरहेको बताउनुभयो।
अस्पतालको समस्याबारे जानकारी लिएपछि स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले अस्पतालको दिगो सञ्चालन तथा व्यवस्थापनका लागि मन्त्रालयबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले सर्वसाधारणलाई निरन्तर र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल प्रशासन र पालिका नेतृत्वलाई थप व्यवस्थापकीय सुधार गर्न निर्देशन दिनुभयो।
अनुगमन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, वरिष्ठ लेखा अधिकृत नारायणप्रसाद आचार्य, वडा नम्बर ३ का अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष शोभाराज विश्वकर्मा, प्रशासन शाखा प्रमुख नुमाकान्त कालाथोकी, स्वास्थ्य शाखा प्रमुख नेवबहादुर केसी र अस्पतालका इन्चार्ज सुवास चन्द सर्पालीलगायत कर्मचारीहरूको उपस्थिति थियो।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका बंगलाचुली गाउँपालिका सभापति विक्रम डाँगीसहित पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूको पनि सहभागिता रहेको थियो।