Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

खेलरोमा समेटियो नेपाली क्रिकेट

शनिबार, असोज २४, २०८३

काठमाडौं,२४असाेज - खेल हेर्ने अनुभवलाई थप रोचक र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यसहित खेलरोले आफ्नो निःशुल्क स्पोर्ट्स प्रेडिक्शन प्लेटफर्ममा नेपाली क्रिकेटलाई पनि समावेश गरेको छ। यससँगै प्रयोगकर्ताले उपलब्ध नेपाली क्रिकेटका खेलमा नतिजाको अनुमान लगाउन, सही अनुमानका आधारमा अंक कमाउन र लिडरबोर्डमा अन्य क्रिकेटप्रेमीसँग प्रतिस्पर्धा गर्न सक्ने भएका छन्।

खेलरोले क्रिकेटप्रेमीलाई खेल हेर्ने मात्र नभई आफ्नो क्रिकेट ज्ञान, विश्लेषण र अनुमानसमेत परीक्षण गर्ने अवसर प्रदान गर्ने जनाएको छ। प्रयोगकर्ताले कुन टोलीले जित्ला, खेलको नतिजा कस्तो होला र कुन टोली बलियो देखिन्छ भन्नेजस्ता अनुमान लगाएर अंक प्राप्त गर्न सक्नेछन्।

खेलरोका अनुसार सही अनुमानका आधारमा प्राप्त अंकले प्रयोगकर्तालाई लिडरबोर्डमा आफ्नो स्थान सुधार गर्न मद्दत गर्छ। यसले खेल सुरु हुनुअघि नै क्रिकेटप्रेमीबीच हुने अनुमान, बहस र विश्लेषणलाई थप अन्तरक्रियात्मक तथा प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।

बेटिङ होइन, निःशुल्क प्रेडिक्शन प्लेटफर्म

खेलरोले आफूलाई बेटिङ प्लेटफर्म नभई निःशुल्क स्पोर्ट्स प्रेडिक्शन प्लेटफर्मका रूपमा प्रस्तुत गरेको छ। यसमा सहभागी हुन पैसा लगाउनुपर्ने आवश्यकता नरहेको कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ। प्लेटफर्मको अनुभव खेलसम्बन्धी ज्ञान, अनुमान, अंक, र्‍याङ्किङ र प्रतिस्पर्धामा आधारित रहेको जनाइएको छ।

प्रयोगकर्ताले आफ्नो अनुमान कति सही हुन्छ भनेर परीक्षण गर्न, साथीहरूसँग प्रतिस्पर्धा गर्न र लिडरबोर्डमा आफ्नो स्थान माथि लैजान सक्नेछन्। खेलको नतिजा सही अनुमान गर्दाको रोमाञ्चलाई केन्द्रमा राखेर प्लेटफर्म विकास गरिएको खेलरोले जनाएको छ।

अन्तर्राष्ट्रिय फुटबलबाट नेपाली क्रिकेटसम्म

खेलरोको सुरुआत अन्तर्राष्ट्रिय फुटबलबाट भएको प्रेस विज्ञप्तिमा उल्लेख छ। खेल हेर्ने अनुभवलाई थप अन्तरक्रियात्मक र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले विकसित प्लेटफर्ममा प्रयोगकर्ताले विभिन्न खेल तथा प्रतियोगिताका उपलब्ध खेलहरूको नतिजा अनुमान गर्दै अंक कमाउन र अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्न सक्छन्।

नेपाली क्रिकेटलाई समावेश गर्नु प्लेटफर्मको अनुभव विस्तार गर्ने अर्को कदमका रूपमा प्रस्तुत गरिएको छ। यसमार्फत नेपालमा बढिरहेको नयाँ पुस्ताको खेलप्रेमी संस्कृतिसँग अझ नजिकिने लक्ष्य खेलरोले राखेको छ।

एन्ड्रोइड र आईओएसमा उपलब्ध

सफ्टनेप (SoftNEP) द्वारा विकसित खेलरो एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ। प्लेटफर्मले आगामी दिनमा नेपाली खेलप्रेमीका लागि थप खेल तथा नयाँ अनुभवहरू समेट्दै जाने उद्देश्य राखेको जनाएको छ।

नेपाली क्रिकेट खेलरोमा समावेश भएसँगै क्रिकेटप्रेमीले खेलको नतिजा हेर्नुका साथै आफ्ना अनुमानलाई परीक्षण गर्ने र अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्।

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  ०८:०६
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी