सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ, असोज २४ - दाङको शान्तिनगर गाउँपालिका–१, खिलतपुरस्थित श्री वीरेन्द्र माध्यमिक विद्यालयमा आगामी बडादसैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम र अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूले शुभकामना पत्र आदानप्रदान गर्दै आपसी सद्भाव, प्रेम, भाइचारा, एकता र सहयोगको भावना अभिवृद्धि गर्ने सन्देश दिएका थिए।
कार्यक्रममा विद्यार्थीहरूले दसैँ, तिहार तथा अन्य लोकदोहोरी गीतमा एकल र युगल लोकनृत्य प्रस्तुत गरेका थिए। सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।
विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलापअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगितालाई लक्षित गरी अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगितासमेत सञ्चालन गरिएको थियो। प्रतियोगितामा विभिन्न स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा अबिर लगाएर सम्मान गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने बाल क्लब, जुनियर रेडक्रस सर्कल (जुरेस), विद्यार्थी तथा शिक्षकहरूलाई विद्यालयले धन्यवाद दिएको छ।
विद्यालयले चाडपर्वले समाजमा शान्ति, सद्भाव, मेलमिलाप र एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गर्दै सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र प्रगतिको शुभकामना दिएको छ।