सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
सल्यान,२६असाेज - आँखाको सामान्य जाँचदेखि मोतियाबिन्दुको सल्यक्रिया सम्मको सेवा अब सल्यानको कपुरकोट गाउँपालिकाबाटै पाइने भएको छ । गाउँपालिकाले कपुरकोट आधारभूत अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएपछि उपचारका लागि श्रीनगर, दाङ र नेपालगन्ज पुग्नुपर्ने स्थानीयको बाध्यता घट्ने भएको हो ।
राप्ती आँखा अस्पताल रक्षाचौर, दाङको प्राविधिक सहयोगमा गाउँपालिकाले आँखा उपचार केन्द्र स्थापना गरेको हो । केन्द्रमा आँखाको नियमित जाँच, सामान्य उपचार र आवश्यकता अनुसार मोतियाबिन्दुको सल्यक्रिया समेत हुने व्यवस्था मिलाइएको छ ।
यस अघि आँखासम्बन्धी सामान्य समस्या देखिँदा समेत उपचारका लागि जिल्लाको श्रीनगर, दाङ तथा नेपालगन्जका अस्पताल पुग्नुपर्ने अवस्था थियो । गाउँपालिकाले प्रत्येक वर्ष आँखा शिविर सञ्चालन गरेर बिरामीको उपचार गर्दै आए पनि नियमित सेवा उपलब्ध थिएन । अब अस्पतालमै उपचार सेवा सुरु भएपछि शिविरको प्रतीक्षा गर्नुपर्ने बाध्यता पनि हट्ने भएको हो ।
आँखा उपचार केन्द्र सञ्चालनका लागि आवश्यक उपकरण खरिद तथा अन्य व्यवस्थापन गाउँपालिकाले गरेको छ भने जनशक्ति राप्ती आँखा अस्पतालले उपलब्ध गराएको छ । केन्द्रमा आँखाअस्पतालका दुई जना स्वास्थ्यकर्मी खटिएका छन् ।
कपुरकोट आधारभूत अस्पतालका व्यवस्थापक देवेन्द्र कुमार सेनका अनुसार गाउँपालिका र राप्ती आँखा अस्पतालबीच केन्द्र सञ्चालन गर्ने सम्झौता भए अनुसार जनशक्ति आँखा अस्पतालले उपलब्ध गराएकोर उपकरण खरिद तथा अन्य व्यवस्थापन गाउँपालिकाले गरेको हो ।
शनिबारदेखी औपचारिक रुपमा कपुरकोट आधारभूत अस्पतालमा आँखा उपचार केन्द्रबाट सेवा सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन र नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापति कृष्ण कुमार गिरीले संयुक्त रुपमा आँखा उपचार केन्द्रको औपचारिक उदघाटन गरेका थिए ।
केन्द्रबाट बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सेवा प्रदान हुने बताइएको छ । उपचारको शुल्क भने राप्ती आँखा अस्पतालको नियमानुसार लाग्नेछ । स्थानीयस्तरमै नियमित आँखा उपचार र शल्यक्रियाको सुविधा उपलब्ध भएपछि समय र खर्च बचत हुनुका साथै उपचारमा सहज पहुँच पुग्ने गाउँपालिकाको अपेक्षा छ ।