तिहार तिहार
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

तिहारको झिलिमिलीले २०७३ सालअघिका अँध्यारा दिन सम्झाउँछ : कुलमान घिसिङ

आइतबार, कात्तिक २२, २०८३
नेपाल बिद्युत प्राधिकरण - घाेराही वितरण केन्द्र दाङ
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

काठमाडौँ, २२ कात्तिक - उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले तिहारको झिलिमिली बत्ती देख्दा २०७३ सालअघिका अँध्यारा दिनहरूको सम्झना आउने बताएका छन्।

तिहारको अवसरमा प्रेस नोट जारी गर्दै घिसिङले तिहार उज्यालोको पर्व मात्र नभई दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता, प्रेम र सद्भावको पर्व भएको उल्लेख गरेका छन्। उनले तिहारको झिलिमिलीले विगतमा नेपालीले भोग्नुपरेको लामो लोडसेडिङको अवस्थालाई स्मरण गराउने बताएका हुन्।

घिसिङले २०७३ सालअघि देशमा दैनिक घण्टौँसम्म लोडसेडिङ हुने अवस्था रहेको स्मरण गर्दै नागरिकको साथ, विश्वास र दृढ संकल्पका कारण देशलाई लोडसेडिङमुक्त बनाउन सम्भव भएको बताएका छन्।

उनले भनेका छन्, “तिहारको झिलिमिली देख्दा २०७३ सालअघिका ती अँध्यारा दिनहरू सम्झिन्छु। उज्यालोको पर्वसमेत अन्धकारमा मनाउनुपर्ने बाध्यता थियो। तर तपाईंहरूको साथ, विश्वास र हाम्रो दृढ संकल्पले असम्भवलाई सम्भव बनायो।”

उनका अनुसार विद्युत् पहुँच विस्तारसँगै देशका करिब सबै घरमा बिजुली पुर्‍याउने काम भएको छ भने अहिले नेपाली विद्युत् विदेशसम्म निर्यात हुन थालेको छ। विगतमा बिजुलीको अभावले अन्धकारमा बस्न बाध्य नागरिकले अहिले तिहारमा घर, आँगन र बस्ती झिलिमिली बनाएर पर्व मनाउन पाएको उनको भनाइ छ।

घिसिङले विगतमा विद्युत् क्षेत्रको अन्धकार हटाउन सफल भए पनि मुलुकमा अझै विभिन्न प्रकारका समस्या र चुनौती बाँकी रहेको उल्लेख गरेका छन्। अब भ्रष्टाचार, गरिबी, बेथिति, बेरोजगारी, अन्याय र निराशाको अन्धकार हटाउने संकल्पसहित अघि बढ्नुपर्ने उनको धारणा छ।

“हिजो बिजुलीको अँध्यारो हटायौँ, अब भ्रष्टाचार, गरिबी, बेथिति, बेरोजगारी, अन्याय र निराशाको अँध्यारो हटाउने संकल्प छ। चुनौती जति आए पनि हाम्रो यात्रा रोकिने छैन। किनकि अँध्यारोलाई सरापेर होइन, आफैँ दीप बनेर उज्यालो फैलाउनुपर्छ,” उनले भनेका छन्।

उनले विगतमा विद्युत् क्षेत्रको सुधारका क्रममा साथ र विश्वास प्रदान गर्ने सम्पूर्ण नागरिकप्रति आभारसमेत व्यक्त गरेका छन्।

आगामी दिनमा सुशासन, सामाजिक न्याय र समृद्ध नेपाल निर्माणको अभियानमा पनि नागरिकको साथ र सहयोग रहने अपेक्षा गर्दै घिसिङले तिहारको उज्यालोलाई समाज र राष्ट्रमा सकारात्मक परिवर्तनको प्रतीकका रूपमा लिनुपर्ने सन्देश दिएका छन्।

उनको सन्देशमा तिहारको सांस्कृतिक र पारिवारिक महत्त्वसँगै विगतको विद्युत् संकट, त्यसबाट प्राप्त उपलब्धि र आगामी दिनमा मुलुकलाई समृद्ध बनाउने प्रतिबद्धतालाई जोड दिइएको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २२, २०८३  ११:४८
प्रतिक्रिया दिनुहोस्