Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

नेपाली कम्युनिष्ट पार्टीले कार्तिक ७ देखि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

मंसिर २५ गतेसम्म चल्ने अभियानमार्फत संगठन सुदृढीकरण, जनजीविकाका मुद्दा र सरकारविरुद्ध आन्दोलनको तयारी गरिने
शनिबार, असोज २४, २०८३

काठमाडौं,२४असाेज - नेपाली कम्युनिष्ट पार्टीले आगामी कार्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टीको राष्ट्रिय महाधिवेशन, स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारी तथा सरकारले गरेका जनविरोधी क्रियाकलापविरुद्ध आन्दोलनको तयारी गर्ने उद्देश्यसहित अभियान सञ्चालन गर्न लागिएको हो।

पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा शुक्रबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न केन्द्रीय कार्य संयोजन समितिको छैटौं बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता प्रकाश ज्वालाले असोज २३ गते जारी गरेको विज्ञप्तिअनुसार अभियानको उद्घाटन कार्तिक ७ गते पार्टी केन्द्रीय कार्यालयमा बृहत् पत्रकार सम्मेलनमार्फत गरिनेछ। अभियान मंसिर २५ गते सम्पन्न हुनेछ। बैठकले अभियान सञ्चालनसम्बन्धी कार्यविधि तथा कार्ययोजनासमेत पारित गरेको छ।

अभियानका क्रममा पार्टीका केन्द्रदेखि स्थानीय तहसम्मका सम्पूर्ण नेता तथा कार्यकर्तालाई परिचालन गरिने पार्टीले जनाएको छ। संगठनात्मक एकीकरण तथा समायोजनका बाँकी काम पूरा गर्ने, संगठित सदस्यता नवीकरण र विस्तारलाई तीव्रता दिने तथा पार्टीका बैठक, भेला र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने अभियानका प्रमुख कार्यसूची रहेका छन्।

त्यस्तै, जनतासँग पार्टीको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले जनकेन्द्रित कार्यक्रम, सांस्कृतिक तथा रचनात्मक गतिविधि र श्रम तथा जनसेवाका कार्यक्रम सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ। जनताका माग तथा दैनिक जनजीविकासँग सम्बन्धित समस्या संकलन गरी सम्बन्धित निकायमा पेस गर्ने र तिनको कार्यान्वयनका लागि पहल गर्ने पनि पार्टीको योजना छ।

विपद्बाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका काममा सहयोग गर्ने कार्यक्रमसमेत अभियानमा समेटिएको छ। पार्टीले यी गतिविधिमार्फत जनसम्बन्ध विस्तार र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ।

बैठकले अभियान सम्पन्न भएपछि पार्टीका केन्द्रीय समिति, केन्द्रीय कार्य समिति र केन्द्रीय सचिवालयका बैठक मंसिर महिनाको अन्तिम साता आयोजना गर्ने निर्णय पनि गरेको छ। यसबाट अभियानको समीक्षा तथा आगामी राजनीतिक र संगठनात्मक कार्यदिशा तय गर्ने तयारी पार्टीले गरेको देखिन्छ।

यसैगरी, पार्टीले आगामी पौष ११ गते देशभरका सबै वडामा एकै दिन वडा अधिवेशन गर्ने निर्णय गरेको छ। त्यसपछि माघ १५ गते महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासहित देशभरका सबै पालिकामा एकै दिन अधिवेशन आयोजना गरिनेछ।

वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै पार्टीले तल्लो तहसम्म संगठनात्मक गतिविधिलाई व्यवस्थित बनाउने तयारी गरेको छ। यद्यपि, अधिवेशनको विस्तृत कार्यतालिका तथा व्यवस्थापनसम्बन्धी थप विवरण विज्ञप्तिमा उल्लेख गरिएको छैन।

बैठकले अमेरिकाबाट प्रकाशित हुने ‘ग्रे जोन’ लगायतका सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संवेदनशील विषयमा तत्काल सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दै पार्टीले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेको हो। तर, विज्ञप्तिमा सम्बन्धित समाचारको विषयवस्तु र त्यसबारेको विस्तृत विवरण खुलाइएको छैन।

बैठकले बडादसैँ, तिहार, छठ र नेपाल संवत्लगायतका चाडपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिकलाई शुभकामना व्यक्त गरेको छ।

त्यसैगरी, लामो समय जेल जीवन बिताएका कम्युनिष्ट नेता घनेन्द्र बस्नेत, केन्द्रीय अनुशासन आयोगका सचिव अशोक रोकाय ‘संकल्प’, आयोगका सदस्य विजयबाबु बनबासी तथा केन्द्रीय सल्लाहकार परिषद्का सदस्य पूर्णबहादुर गुरुङ र बौएलाल महतोको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली प्रस्ताव पारित गरेको छ। बैठकले शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेको छ।

समसामयिक राष्ट्रिय परिस्थिति र पार्टीको आगामी कार्यभारबारे संयोजक प्रचण्ड तथा सहसंयोजक नेपालले सम्बोधन गरेको बैठकले संगठन विस्तार, जनसम्बन्ध सुदृढीकरण, आगामी अधिवेशन र राजनीतिक गतिविधिलाई केन्द्रमा राखेर निर्णयहरू गरेको प्रवक्ता ज्वालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।838330103_1131163279440318_7523518700681905477_n-1791595782.jpg

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  ०७:१५
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी