Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

ब्राजिलमा ट्रान्जिटमा रहेका १७६ नेपाली सकुशल : नेपाली दूतावास

मंगलबार, भदौ ११, २०८१

काठमाडौँ  - ब्राजिलको साओ पाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेका १७६ नेपाली नागरिक कुशल रहेका र उनीहरूलाई आवश्यकतानुसार मानवीय सहायता पुर्‍याउन तयारी अवस्थामा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासले आज विज्ञप्तिमार्फत विमानस्थलको ट्रान्जिटमा नेपालीसहित करिब सात सय विदेशी रोकिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाली नागरिकलाई मानवीय सहायता पुर्‍याउन तयारी अवस्थामा रहेको उल्लेख गरेको छ।

दक्षिण अमेरिकाका ब्राजिललगायत मुलुक हुँदै अवैध रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न ठाउँबाट दक्षिण अमेरिकी मुलुकमा आउने प्रवृत्ति बढ्दो छ।

सङ्गठित रूपमा सञ्चालित मानव तस्करको प्रलोभन र उक्साहटमा परी नेपालबाट युवा यस क्षेत्रमा आउने गरेको जानकारी वेलावेला हुने गरेको दूतावासले जनाएको छ। कैयौँले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशि खर्च गर्नुपर्ने परिस्थितिमा फस्न पुगेको पाइएको छ।

‘यसैबीच ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाललगायत केही देशका राहदानीवाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ।’

मानव तस्करको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने सन्दर्भमा जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिई मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन दूतावासले अनुरोध गरेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  २१:०१
प्रतिक्रिया दिनुहोस्