Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

चीन भूकम्प अपडेटः मृतकको सङ्ख्या एक सय २६पुग्यो

बुधबार, पुस २४, २०८१

चीनको तिब्बत क्षेत्रमा हिजो आएको विनाशकारी भूकम्पबाट कम्तीमा एक सय २६ जनाको ज्यान गएको छ । भूकम्प परेर एक सय ८८ जना घाइते हुनुका साथै सयौं भवन क्षतिग्रस्त भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सिन्ह्वाका अनुसार हिजो बिहान नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ । यो भूकम्पको धक्का नेपाल, भारत र भुटानका विभिन्न ठाउँमा पनि महसूस भएको थियो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘सम्भव भएसम्म क्षति कम गर्दै, सम्पूर्ण खोज र उद्धार प्रयासहरू, प्रभावित बासिन्दाहरूको उचित पुनर्वास र जाडोयाममा उनीहरूको सुरक्षा र न्यानो सुनिश्चित गर्न’ आह्वान गर्नुभएको थियो ।

चीन मौसम विज्ञान प्रशासनका अनुसार भूकम्प प्रभावित क्षेत्रमा रातको तापक्रम माइनस १६ डिग्री सेल्सियस सम्म झरेको अवस्थामा उद्धारकर्ताले उद्धार जारी राखेका खबरमा उल्लेख छ ।

यस क्षेत्रमा अग्नि नियन्त्रक, सेना, प्रहरी अधिकारी, स्वास्थ्यकर्मीलगायत १२ हजारभन्दा बढी उद्धारकर्ताहरू खटाइएको चिनियाँ अधिकारीले बताएका छन् ।

चीनका केन्द्रीय अधिकारीहरूले भूकम्प प्रभावित क्षेत्रमा झण्डै २२ हजारको सङ्ख्यामा पाल, शीतकालीन कोट, फोल्डिङ बेडलगायतका विपद् राहत सामग्रीहरू पठाएका छन् ।

यसअघि सन् २०२३ को डिसेम्बरमा उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा आएको भूकम्पमा एक सय ४८ जनाको ज्यान गएको थियो ।

यस्तै सन् २०१४ मा आएको भूकम्पमा परी दक्षिण–पश्चिमी युनान प्रान्तमा छ सयभन्दा धेरै मानिसको ज्यान गएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  ०६:३३
प्रतिक्रिया दिनुहोस्