ह्यान्डिल भाँचिए पनि हिम्मत नहारेका वीर बहादुर, गाउँपालिकाका कर्मचारीहरूले दिए नयाँ साइकल

शुक्रबार, चैत १, २०८१

भालुबाङ २९ फागुन - राप्ती गाउँपालिकाको नवौं स्थापना दिवसको अवसरमा आयोजित साइकल दौड प्रतियोगितामा वडा नम्बर २ का वीर बहादुर कुमालले तृतीय स्थान हासिल गर्नुभयो। उहाँको त्यो जित साधारण थिएन, किनभने उहाँ पहिल्यै ह्यान्डिल भाँचिएको पुरानो साइकल लिएर प्रतिस्पर्धामा उत्रिनु भएको थियो। साधन कमजोर थियो, तर आत्मबल बलियो।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

दैनिक ज्याला मजदुरी गरेर जीवन गुजार्ने वीर बहादुरसँग राम्रो साइकल किन्ने आर्थिक अवस्था थिएन। तर साइकल दौडमा भाग लिने उहाँको चाहना गहिरो थियो। त्यसैले आफ्नो पुरानो, भाँचिएको ह्यान्डिल भएको साइकल लिएर उहाँ मैदानमा उत्रिनु भयो। दौड सुरु भयो, प्रतिस्पर्धा कडा थियो, तर उहाँले हिम्मत हार्नु भएन। साइकल चलाउन असहज थियो, तर उहाँ आफ्नो लक्ष्यप्रति अडिग रहनु भयो। अन्ततः उहाँले उत्कृष्ट प्रदर्शन गर्दै तृतीय स्थान हासिल गर्नुभयो। पुरस्कारस्वरूप ३ हजार ५ सय नगद र प्रमाणपत्र पाउनुभयाे।

तर वीर बहादुरका लागि सबैभन्दा ठूलो उपहार त प्रतिस्पर्धा सकिएपछि आयो। उहाँको मेहनत र संघर्ष देखेर गाउँपालिकाका कर्मचारीहरू भावुक हुनुभयो। इन्जिनियर अशोक बेल्वासेले सहकर्मीहरूसँग सल्लाह गरेर उहाँलाई नयाँ साइकल किनिदिने निर्णय गर्नुभयाे। प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले विशेष समारोहमा वीर बहादुरलाई नयाँ साइकल हस्तान्तरण गर्नुभयाे।

नयाँ साइकल हातमा पर्दा वीर बहादुरको अनुहारमा चमक छायो। अब उहाँले अझ आत्मविश्वासका साथ अर्को प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अठोट गर्नुभयाे। उहाँ भन्नुहुन्छ, "अब अर्को दौडमा पहिलो स्थान ल्याउनेछु,साईकल प्रदान गर्नुभएको सबैलाई धन्यवाद।"

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ०६:१९
प्रतिक्रिया दिनुहोस्