Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी

शुक्रबार, वैशाख ५, २०८२

मसुरीया, ५ बैशाख - दाङको राप्ती गाउँपालिकामा आयोजित अध्यक्ष कप फुटबल प्रतियोगितामा पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजेता बन्न सफल भएका छन्। गत बुधबारदेखि वडा नं. २, लालमटियास्थित टुडिखेल मैदानमा सुरु भएको प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ  वडा नं. १ र वडा नं. २ बीच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयसम्म दुबै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको थियो। पेनाल्टीमा वडा नं. १ ले वडा नं. २ लाई ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्‍यो भने वडा नं. २ उपविजेतामा सीमित रह्यो।WhatsApp-Image-2025-04-18-at-9.34.22-PM-1744992095.jpeg
त्यस्तैगरी महिलातर्फको फाइनल खेलमा वडा नं. २ ले वडा नं. ४ लाई ७–० को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भयो। एकतर्फी खेलमा वडा नं. २ ले प्रभावशाली प्रदर्शन गर्दै शानदार जित हात पार्‍यो।

प्रतियोगितामा विजेता टोलीहरूलाई नगद ४०/४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता टोलीहरूले नगद ३०/३० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

व्यक्तिगत विधामा समेत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गरिएको थियो। महिलातर्फ वडा नं. १ की मनिषा कुमाल उत्कृष्ट खेलाडी घोषित भइन् भने वडा नं. २ की पुजा रावत उत्कृष्ट गोलकर्ता र गङ्गा रोका उत्कृष्ट गोलकिपरको रूपमा चयन भइन्। त्यस्तै, पुरुषतर्फ वडा नं. १ का हिमाल नेपाली उत्कृष्ट खेलाडी घोषित भए भने वडा नं. २ का अमित चौधरी उत्कृष्ट गोलकर्ता र विशाल केसी उत्कृष्ट गोलकिपर बने। ती सबै खेलाडीहरूलाई जनही २ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

खेल समापन कार्यक्रममा अन्य प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत सम्मान गरिएको थियो। हालै घोराहीमा सम्पन्न ‘घोराही गोल्डकप’ मा उपविजेता बन्न सफल खेलाडीहरूलाई जनही ३ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो। त्यसैगरी, तुलसीपुरमा सम्पन्न प्रथम नेपाल तरुण दल कप दाङ जिल्ला स्तरीय खुला भलिबल प्रतियोगितामा उपाधि जित्ने टोलीलाई ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। ६५ केजी तौल समूहमा गोल्ड मेडल जित्न सफल बडीबिल्डर माधव सुवेदीलाई पनि प्रमाणपत्रसहित विशेष सम्मान गरिएको थियो।

समापन समारोहमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, विभिन्न वडाका अध्यक्षहरू तथा अन्य  जनप्रतिनिधिहरूले विजेता टोली र व्यक्तिगत विधामा उत्कृष्ट भएका खेलाडीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गर्नु भएको थियो।

गाउँपालिकाले प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, दर्शक तथा सहयोग पुर्‍याउने सम्पूर्ण प्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले खेल गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  २१:४७
प्रतिक्रिया दिनुहोस्
समाचार