राप्तीमा रोकिएको विद्युत् सब-स्टेसन निर्माण कार्य पुनः सुरु

सोमबार, वैशाख १५, २०८२

मसुरीया - दाङको राप्ती गाउँपालिकामा रोकिएको विद्युत् सब-स्टेसन निर्माण कार्य पुनः सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लमहीअन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर २, बराखुट्टी एकता नगरमा सुरु गरिएको ३३/११ केभी क्षमताको सब-स्टेसन वन क्षेत्रमा परेको भन्दै रोकिएको थियो। अहिले गाउँपालिकाको वडा नम्बर ४, खिनैटामा खरिद गरिएको आफ्नै जग्गामा निर्माण कार्य पुनः सुरु गरिएको हो।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

वि.सं. २०८० साल माघ महिनामा सब-स्टेसनको शिलान्यास गरिएको थियो। तर, निर्माण स्थल वन क्षेत्रमा परेपछि कानुनी तथा प्राविधिक समस्याका कारण काम रोकिएको थियो। अहिले नयाँ स्थानमा निर्माण सुरु भएसँगै कार्यले तीव्रता पाएको छ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भन्नुभयाे, "सब-स्टेसन निर्माण सम्पन्न भएपछि पालिकामा देखिएको विद्युत् लो-भोल्टेज, ओभरलोड र विद्युत् कटौतीको समस्या सधैंका लागि अन्त्य हुनेछ।"

उहाँका अनुसार सब-स्टेसन सञ्चालनमा आएपछि पालिकाका सबै वडामा क्षमतासहित पूर्ण विद्युतीकरण गरिनेछ। अध्यक्ष विष्टले थप्नुभयाे, "कतिपय पहाडी गाउँका नागरिकहरू अझै अन्धकारमा बस्न बाध्य छन्। सब-स्टेसनको निर्माण सम्पन्न भएसँगै त्यो बाध्यता पनि अन्त्य हुनेछ।"

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लमहीका फिल्ड संयोजक मिन्तिराम यादवका अनुसार हाल पालिकाका विभिन्न वडामा विद्युतकाे पाेल गाड्ने काम भई रहेको छ।
"समयमै काम सक्ने लक्ष्यसहित अगाडि बढेको भए पनि केही प्राविधिक समस्याका कारण निर्माण कार्यमा ढिलाइ भएको हो," यादवले भन्नुभयो।

राप्ती गाउँपालिकाको विद्युत् प्रणाली सुदृढीकरणका लागि निर्माण भइरहेको ३३/११ केभी क्षमताको उक्त सब-स्टेसन एसटीएएलएमई जेभी कम्पनीलाई ५० करोड रुपैयाँमा ठेक्का दिइएको छ।

सब-स्टेसन निर्माण सम्पन्न भएसँगै राप्ती गाउँपालिकाका बासिन्दाहरूले दिगो र भरपर्दो विद्युत् सेवा पाउने विश्वास गरिएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्