मगर राष्ट्रिय मुक्ती मोर्चा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा प्रवेश पुन मगर निर्विरोध निर्वाचित

सिसहनियाँ, १७ वैशाख - मगर राष्ट्रिय मुक्ती मोर्चा, नेपाल मथालु (लुम्बिनी) प्रदेश समितिको अध्यक्षमा प्रवेश पुन मगर निर्विरोध निर्वाचित हुनुभएको छ।

मंगलबार अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–८, सातमारामा सम्पन्न मोर्चाको तेस्रो सम्मेलनले पुन मगरको अध्यक्षतामा ५१ सदस्यीय नयाँ प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षहरूमा तारा पुन मगर, खडक बहादुर पुन मगर र कुमारी दिलमाया घर्ती मगर चयन हुनुभएको छ। त्यस्तै, सचिवमा भुपालसिंह सारु मगर, सह–सचिवमा नरबहादुर घर्ती मगर र कोषाध्यक्षमा ललिता बुढा मगर निर्वाचित हुनुभएको छ। साथै, समितिमा अन्य सदस्यहरू पनि चयन भएका छन्।

सम्मेलन मोर्चाका प्रदेश अध्यक्ष धन बहादुर पुन मगरको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल "बलदेव" को प्रमुख आतिथ्यता र पार्टीका प्रदेश अध्यक्ष सुदर्शन बरालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खनालले नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको चर्चा गर्दै उत्पीडित समुदाय र सर्बहारा वर्गको अधिकारका लागि एकमात्र  पार्टी नेकपा (माओवादी केन्द्र) नै दृढतापूर्वक अगाडि बढिरहेको बताउनुभयो। उहाँले जनताको जीवनस्तर उकास्न र उत्पीडन अन्त्य गर्न माओवादी केन्द्रले खेलेको भूमिकाको चर्चा गर्दै अब पार्टीको अभियान अझ जनस्तरसम्म पुर्‍याउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

त्यस्तै, विशिष्ट अतिथि सुदर्शन बराल मगरले माओवादी केन्द्र अन्य राजनीतिक पार्टीभन्दा भिन्न सिद्धान्त बोकेको पार्टी भएको बताउनुभयो। जातीय, भाषिक र सांस्कृतिक अधिकारको संरक्षणमा माओवादी पार्टीको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले उत्पीडित समुदायहरूको हितमा पार्टीको भूमिकालाई अझ मजबुत बनाउनुपर्ने धारणा राख्नुभयो।

सम्मेलनमा मगर राष्ट्रिय मुक्ती मोर्चाका केन्द्रिय र प्रदेश नेताहरू, विभिन्न जिल्लाका प्रतिनिधिहरू, बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सम्मेलनले मगर समुदायको हक, अधिकार र पहिचानका सवालमा आगामी दिनहरूमा अझ सशक्त अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १९:४२
प्रतिक्रिया दिनुहोस्
समाचार